परपुरुषसँग लागेपछि बिष खुवाई ४ वर्षे छोराको हत्या !

२३ माघ, पोखरा । सल्यानमा एक युवतीले आफ्नै छोरालाई विष खुवाएर मारेको खुलेको छ ।

छत्रेश्वरी गाउँपालिका ४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीका अनुसार परपुरुषसँग सम्बन्ध राखेकी केसीले छोरा समीरलाई गत पुस २८ गते सल्फास नामको विषादी खुवाएकी थिइन् ।

बालकले वान्ता गर्न थालेपछि श्रीनगरको अधिकारी पोलिक्लिनिकमा उनैले लगिन् । त्यहाँ डाक्टरले बालकलाई मृत घोषित गरेका थिए । त्यसपछि बालकलाई गाउँमा ल्याई दाहसंस्कार गरिएको थियो ।

बालकको दाहसंस्कार गरेको साँझ सोही घरमा बास बसेका पाहुनाहरुबाट प्रहरीले घटना शंकास्पद रहेको जानकारी पाएपछि अनुसन्धान सुरु गरेको थियो । ‘बास बसेका पाहुनाहरुले कोठामा सुत्ने क्रममा विषादीको गन्ध र धुलो देखेपछि शंका लागेर प्रहरीलाई खबर गरे, अनि हामी पुगेका हौं’ डीएसपी शाहीले भने ।

प्रहरीले आमा एलिशालाई पुुस २९ गते पक्राउ गरेको थियो । भारतमा काम गर्ने एलिशाका श्रीमान घटना हुनुभन्दा १० दिनअघि मात्र घरविदा सकेर काममा फर्किएका थिए । प्रहरीसँगको बयानका क्रममा एलिशाले श्रीमानले आफूलाई कुटपीट गर्नुका साथै अर्को विहे गर्ने चेतावनी दिएको आरोप लगाएकी छन् ।

आफ्नो पनि एक युवकसँग सम्बन्ध रहेको र उसलाई आफू अविवाहित हुँ भनी ढाँटेको उनको स्वीकारोक्ति छ । ती यूवकसँग बिहे गर्ने योजना रहेको पनि उनले बताएकी छन् ।

‘श्रीमान र श्रीमती दुवैले अर्को विहे गरेपछि बच्चाले दुख पाउँछ भनेर घटना घटाएको भन्ने बयान दिएकी छिन्,’ डीएसपी शाहीले भने । एलिशाले कर्तव्य गरी छोरालाई मारेको देखिन आएको भनी माघ २२ गते प्रहरीले जिल्ला अदालतमा पेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *