कांग्रेसद्वारा सुनुवाई समितिको बैठक बहिस्कार

२० माघ, । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले संवैधानिक आयोगमा गरिएको सिफारिसप्रति लिखित असहमति राख्दै संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार गरेका छन् ।

आइतबार बसेको बैठकमा माघ ६ गते सिफारिस भएका विभिन्न पाँच संवैधानिक आयोगका प्रमुखमाथि उजुरी आह्वान गर्ने विषयमा छलफल गर्न बोलाइएको सुनुवाई समितिको बैठक बहिस्कार गरेका हुन् ।

कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेता शेरबहादुर देउवाको उपस्थितिविनै बसेको बैठक गैरकानूनी भएको दावीसमेत गरेका छन् । कांग्रेसले उक्त निर्णयको कागजात मगाई सुनुवाई समितिले छानबिन गर्नुपर्ने माग गरेको छ ।

आइतबारको बैठकमा संवैधानिक आयोगमा सिफारिसभएकाहरुविरुद्ध उजुरी आह्वान गर्ने विषयमा छलफल सुरु भएपछि कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दलको नेताको सहभागिताविना भएको निर्णय मान्य नभएको बताए ।

‘प्रतिपक्षीको अस्तित्वलाई सरकारले स्वीकार गर्नुपर्छ, संवैधानिक परिषदको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको असहभागितामा निर्णय भएको छ । यसमा असन्तुष्टि भएको छ । त्यसको कागजात मगाएर हेरौं’ उनले बैठकमा भने ।

तर सभापति लक्ष्मणलाल कर्णले १० दिनको समय दिएर उजुरी आह्वान गर्ने त्यसबीचमा छलफल गर्न सकिने बताए । ‘उजुरी आह्वान गरेर जाऔं, १० दिनको समय छ । यसबीचमा छलफल गर्न सकिन्छ’ उनले भने ।

त्यसपछि सुनुवाइ समितिमा रहेका कांग्रेस सांसदहरु कार्की, जीतेन्द्र देव, पुष्पा भुसाल लिखित असहमति बुझाएर बैठकबाट बाहिरिएका हुन् ।

गत माघ ६ गते बसेको संवैधानिक परिषदको बैठकले प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, थारु आयोग, मुस्लिम आयोग र मधेसी आयोगको अध्यक्ष नियुक्ति गरेको थियो । तर उक्त निर्णय गर्दा परिषदको सदस्य तथा विपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी थिएनन् ।

नेपाली कांग्रेसका सांसदहरुको भनाइअनुसार देउवालाई कानूनबमोजिम परिषदको बैठक बस्ने ४८ घण्टा अगाडि सूचना पठाउनुपर्ने भए पनि पठाइएको थिएन । कांग्रेस सांसदहरुले उक्त बैठकको निर्णय गैरकानूनी भएको पनि दावी गरेका छन् ।

हेर्नुहोस् कांग्रेसको लिखित असहमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *