स्याङ्जाका सुन्तला किसानलाई बजारको चिन्ता

अघिल्ला वर्ष भन्दा यस वर्ष सुन्तला उत्पादन बढेर खुशी भएका किसान बजार नपाउने भएपछि चिन्तित बनेका छन् । वर्षभरी गरेको मिहिनेतलाई बिर्साउने गरी सुन्तला त फल्यो तर, दुःख गरी लगाएको सुन्तलाले फल दिने बेलामा बजार नपाउँदा उनीहरु चिन्तामा परेका हुन् ।

छब्बीस वर्षदेखि सुुन्तला खेती गर्दै आएका पुतलीबजार नगरपालिका ११ मायाटारीका किसान बोधराज अर्यालले यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भए पनि बजारको अभावले किसानहरुलाई चिन्तित बनाएको बताए । छब्बीस वर्ष पहिले एउटा सुन्तलाको बोटबाट सुन्तला खेतीको सुरुआत गरेका अर्यालले अहिले ४५ रोपनी जमीनमा सुन्तला लगाएका छन् । बजारमा अझै पनि सुन्तलाको भाउ आइनसकेको र आफूहरु बजारकै खोजीमा रहेको उनि बताछन् । सुन्तला, मुन्तला, जुनार, कागतीलगायतका अमिलो जातका फलफूलको खेती गर्दै आएका अर्यालले वर्षमा २६ लाख रुपैयाँ जति आम्दानी गर्छन ।

सुन्तला र जुनारको जाम र बोक्रा सुकाएर चियाको रुपमा दुई-तीन वर्षदेखि उनले जापान निर्यात गर्दै आएका छन् । उनको बगैँचाबाट हिमालसमेत राम्रोसँग देखिन्छ । सुन्तलाको फल लागेर पाक्ने बेलामा परेको असिना पानीले क्षति पुर्याए पनि यस वर्ष फल राम्रो लागेकाले उचित मूल्य र बजार पाउनेमा उनि आशावादी छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनका अध्यक्षसमेत रहेका अर्यालका अनुसार बजार व्यवस्थापन र शीत भण्डारको अभावले गर्दा किसान मर्कामा परेका छन् ।

भिरकोट ७ का मिनप्रसाद कोइरालाले २७ रोपनीमा सुन्तला खेती गर्दै आएका  छन् । वर्षमा १२ देखि १५ लाख रुपैयाँसम्म सुन्तलाबाट आम्दानी गर्दै आउनुभएका उहाँ थप जमीन लिएर सुन्तला खेती विस्तार गर्ने योजनामा छन् ।

अर्जुनचौपारी गाउँपालिका १ का सुन्तला किसान फणिनारायण अर्यालले पनि यस वर्ष सुन्तला राम्रैसँग फलाएका छन् र गत वर्ष भन्दा बढी आम्दानी हुनेमा आशावादी छन् । विसं २०४२ सालदेखि सुन्तला खेती गर्दै आएका अर्यालले अहिले ८० रोपनी जमीनमा सुन्तला खेती गर्दै आएका छन् । उनको बगैँचामा अहिले सुन्तला टिप्ने काम भइरहेको छ । यस वर्ष करीब ३० लाख रुपैयाँ आम्दानी गर्ने उनको लक्ष्य छ । अर्यालले सुन्तलाको बगैँचाभित्रको खाली जमीनभित्र कफी खेतीसमेत गरेका छन् ।

कफीबाट वार्षिक रु दुई–तीन लाख आम्दानी हुने गरेको र यसलाई अझै विस्तार गर्दै लैजाने आफ्नो योजना रहेको उनले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन कार्यालय स्याङ्जाका सूचना अधिकारी महाप्रसाद पौडेलका अनुसार जिल्लामा दुई हजार ६८ हेक्टर जमीनमा किसानले सुन्तला खेती गर्दै आएका छन् । यसमध्ये सुन्तला सुपरजोनभित्र एक हजार १५६ हेक्टर जमीन रहेको छ । प्रतिहेक्टर उत्पादकत्व ११.७९ प्रतिशत मेट्रिक टन रहेको छ । जिल्लामा चौध हजार ६२९ मेट्रिक टन सुन्तला उत्पादन हुन्छ र उत्पादित सुन्तलामध्ये ११ हजार ४०३ मेट्रिक टन जिल्ला बाहिर बिक्री हुने गर्छ । बाँकी जिल्लामै खपत हुन्छ । प्रतिकिलो सरदर रु ४० का दरले बिक्री हुँदै आएको छ । यस वर्ष करीब रु ४६ करोड ४१ लाख २९ हजार बराबरको सुन्तला उत्पादन हुने अनुमान छ । यसमध्ये सुपरजोन क्षेत्रभित्र रु २६ करोड १९ लाख बराबरको सुन्तला उत्पादन हुने प्रक्षेपण सुपरजोन कार्यालय स्याङ्जाले गरेको छ ।

कार्यालयका अनुसार गत वर्ष करीब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सुन्तला सुपरजोन कार्यालय स्याङ्जाका कार्यालय प्रमुख मदन श्रेष्ठले सुन्तला जोनको रुपमा रहेको जिल्ला यसै वर्षको साउनदेखि सुन्तला सुपरजोनको रुपमा स्तरोन्नति भएको बताउँदै किसानहरु सुपरजोनमा सहभागी हुन निकै उत्साहित भए पनि सीमित स्रोत र साधनका कारण सबैलाई समावेश गर्न नसकिएको जानकारी दिए । प्रमुख श्रेष्ठका अनुसार हाइटेक नर्सरी, बजारीकरणका साथसाथै सुन्तला सङ्कलन केन्द्र स्थापना गर्ने योजना छ । किसानका लागि बगैँचामा गोडमेल गर्न आवश्यक पर्ने औजारहरु कार्यालयले उपलब्ध गराएको छ ।

सुन्तला सुपरजोनका रुपमा जिल्लाको पुतलीबजार नगरपालिका, भिरकोट, वालिङ नगरपालिकाका साथै अर्जुनचौपारी गाउँपालिकाका केही वडा रहेको र सुपरजोनमा सहभागी हुन चाहने सबै किसानलाई समावेश गर्न नसकिएको श्रेष्ठले बताए । पुतलीबजार नगरिपालिकास्थित मायाटारी, करेन्डाँडा, ठुलाडिही, आँधिखोला गाउँपालिकाको फापरथुम, भिरकोट नगरपालिकाको खिलुङ देउराली, वालिङ नगरपालिकाको एलादि, डकालडाँडा, गल्याङ नगरपालिकाको पेलकोट, सिरौसा, अर्जुनचौपारी, हरिनासलगायतका स्थानीयवासीले सुन्तलाबाट वर्षमा पाँच लाखदेखि तीस लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । जिल्लामा उत्पादन भएको सुन्तला बुटवल, नारायणगढ, पोखरा, काठमाडौं लगायतका शहरमा बिक्री हुँदै आएको छ । जिल्लाको अधिकाँश ठाउँमा सुन्तला उत्पादन हुने भए पनि बजारको राम्रो व्यवस्थापन नहुँदा कतिपय किसान सुन्तला खेतीमा हात हाल्न हच्किएका छन् ।

किसानले उत्पादन गरेको वस्तुको उचित मूल्यमा खरिद गर्ने व्यवस्था सरकारले मिलाइदिए किसानको मनोबल बढ्ने र धेरै हदसम्म बेरोजगारी समस्याको समाधान हुनेमा दुईमत हुन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *