सम्बन्ध सुधार्दै पारस–हिमानी

शाहवंशको इतिहाससँग जोडिएको ठाउँ हो— गोरखा । त्यही गोरखामा यसपटक अर्को एउटा रमाइलो संयोग सिर्जना भयो र त्यो थियो— पूर्वयुवराज पारस शाह तथा पूर्वयुवराज्ञी हिमानी शाहको मिलन ।

पारस र हिमानीसँगै बसे, कुराकानी गरे, आपसमा मुस्कान साटासाट गरे । बोलीचाली नै बन्द हुने गरी बिग्रिएको सम्बन्धमा आएको यो परिवर्तनलाई धेरैले अर्थपूर्ण रूपमा लिए भने कतिपयले उनीहरूबीचको सम्बन्धमा सुधार आइसकेको दाबीसमेत गरे ।

गोरखाको त्यो मिलन 

गणतन्त्र स्थापनासँगै राजसंस्थाको अन्त्य भए पनि पूर्वराजपरिवारका सदस्यहरू समाजसेवा, धार्मिक एवं विदेश भ्रमण आदिका विभिन्न कारणले बेलाबेलामा चर्चामा आइरहन्छन् । भदौ २१ गते हिमानी ट्रस्टद्वारा निर्मित पालुङटार नगरपालिका–५, ठाँटीपोखरीस्थित भवानी माध्यमिक विद्यालयको भवन हस्तान्तरण कार्यक्रममा पूर्वयुवराज पारस शाह तथा पूर्वयुवराज्ञी हिमानी शाहसँगै पूर्वरानी कोमल शाह पनि थिइन् भने पूर्वअधिराजकुमारीहरू प्रेरणा राज्यलक्ष्मी सिंह, शितास्मा शाह, दिलासा शाह पनि सँगै थिए । पूर्वयुवराज्ञी हिमानी ‘हिमानी ट्रस्ट’ मार्फत समाजसेवामा तल्लीन छिन् । ट्रस्टको संरक्षकमा छन्— पूर्वराजा ज्ञानेन्द्र तथा पूर्वरानी कोमल ।

ट्रस्टले शिक्षा, स्वास्थ्य, वातावरण तथा दैवी प्रकोपलाई मुख्य आधार बनाएर काम गर्दै आएको ट्रस्टकी सचिव श्री मल्लले बताइन् । सामाजिक क्षेत्रमा लागेका ठाँटीपोखरीका भगिरथ गुरुङसँगको छलफलपछि उक्त विद्यालयले हिमानी ट्रस्टलाई भवन निर्माण गरिदिन आग्रह गरेको थियो ।

२०७२ वैशाख १२ को भूकम्पले पुरानो २० कोठे भवन भत्काएपछि हिमानी ट्रस्ट तथा बुद्घिष्ट अर्गनाइजेसनले ४ करोड ९५ लाख रुपैयाँ खर्च गरेर भवानी माध्यमिक विद्यालय भवन निर्माण गर्‍यो । ‘आठकोठे सुविधा सम्पन्न विद्यालय बन्यो, अर्को भवन पनि हिमानी ट्रस्टले नै निर्माण गरिदिने सम्झौता भैसकेको छ,’ विद्यालयका प्रध्यानाध्यापक ओजराज गिरीले बताए । भवन अभावमा उक्त विद्यालयका १० वटा कक्षा अझै टहरोबाटै सञ्चालित छन् । हाल निर्माण भएको आठकोठे विद्यालय भवन निर्माणका क्रममा पनि हिमानीले त्यसका बारेमा जानकारी लिइरहेको बताइन्छ । २०७३ मंसिर १९ गते ट्रस्टकी अध्यक्ष हिमानीले उक्त विद्यालय भवनको शिलान्यास गरेकी थिइन् ।

निर्माण सम्पन्न भएपछि हिमानीले ट्रस्टकी संरक्षक एवं सासु कोमल तथा श्रीमान पारसलाई आफ्नो परिश्रम देखाउने चाँजोपाँजो मिलाउदै निम्तो गरिन् भने उनीहरूलाई अतिथि वनाएर पालुङटारसम्म ल्याइन् । आयोजकले पूर्वराजपरिवारका सदस्य कार्यक्रममा अतिथि बनेर आउने पूर्वजानकारी प्रशासनलाई गराएका थिए । भवन हस्तान्तरण भन्दा पनि पूर्वराजपरिवारका सदस्यको आनीवानी, बोली, व्यवहार आदि हेर्न ठाँटीपोखरीको भवानी माध्यमिक विद्यालयको प्राङ्गणमा अभिभावक, स्थानीय बासिन्दा तथा विद्यार्थीहरूको ठूलो भीड लागेको थियो । राजसंस्था हुँदाको वखत जस्तो चार्म नभए पनि पूर्वराजपरिवारका सदस्यहरूलाई हेर्न स्थानीय बासिन्दाहरू लालायित देखिन्थे ।

पूर्वराजपरिवारका सदस्य मध्ये लामो समयपछि सँगै देखिएका पूर्व युवराज पारस र हिमानी विशेष आकर्षणको केन्द्र बन्ने नै भए । भीडको आँखा उनीहरूतिरै सोझिएको थियो । पारस थाइल्यान्डमा लामो समय  बिताएर तीन वर्षअघि नेपाल फर्किएका हुन् । थाइल्यान्डमा प्रेमिका कन्निका तथा लागूपदार्थ दुव्र्यसनबीच फसेर पटक–पटक विवादमा पर्दै आएका पारस र हिमानीबीच यो तीन वर्षमा पनि सम्बन्ध पुरानो अवस्थामा फर्कन नसकेको अनुमान गरिँदै आएको छ ।

नेपाल फर्किएपछि उनीहरू सँगै नबस्नुले उक्त अनुमानलाई बल पुर्‍याउँदै आएको छ, तर केही समययता नेपालगन्ज र काठमाडौंको सोल्टी होटलमा भएका जमघटहरूमा हिमानी र पारससँगै देखिन थालेपछि उनीहरूबीचको दूरी घट्दै गैरहेको बताइन थालेको थियो । अझ रोचक त के भने शाहबंशको इतिहाससँग जोडिएकै गोरखामा पुगेर पारस–हिमानीले सार्वजनिक रूपमै कुराकानी गरेपछि यसले उनीहरूबीचको सम्बन्ध सुधार हुँदै गएको स्पष्ट संकेत मिलेको छ । ‘हिमानी र पारस एउटै मञ्चमा देखिनु आफैंमा महत्वपूर्ण क्षण हो, पछिल्लो समय हामीले उहाँहरूलाई विरलै सँगै देखेका छौं,’ पारिवारिक स्रोतले भन्यो । उनीसँगै आएका आसेपासे हिमानी र पारसको समन्ध सुध्रदै गएको दाबी गर्दै खुसी देखिन्थे । आसेपासेहरू सञ्चारमाध्यमलाई ‘पोजेटिभ’ समाचार संप्रेषण गरिदिन आग्रह समेत गर्दै थिए ।

उक्त कार्यक्रममा सहभागी हुन हिमानी र कोमल अघिल्लो दिन भदौ २० गते काठमाडौंबाट हिँडेका थिए । मुग्लिनको एक होटलमा बास बसेर भोलिपल्ट कार्यक्रम सुरु हुनुभन्दा दुई घण्टाअगावै उनीहरू ठाँटीपाखेरी आइपुगे । पारस भने फिस्टेल एयरको हेलिकप्टरबाट बिहीबार बिहान करिब आठ बजेतिर बहिनी प्रेरणा, शितास्मा तथा दिलासासहित पालुङटार उत्रिए । उनीहरूले संयुक्त रूपमै स्थानीय बासिन्दाहरूसँग भेटघाट पनि गरे । त्यतिबेला स्थानीय बासिन्दाहरूका साथै राप्रपा कार्यकर्ताले पूर्वराजपरिवारका सदस्य समक्ष धर्म र राष्ट्र जोगाउन भूमिका खेलिदिन आग्रह गरेका थिए ।

बिहान ११ बजे पूर्वनिर्धारित कार्यक्रमअनुसार राजपरिवारका सदस्यहरू भवानी माध्यमिक विद्यालय प्राङ्गणमा प्रवेश गरे । अतिथिहरूको स्वागतका लागि विद्यार्थी एवं स्थानीय बासिन्दाहरू पुष्पगुच्छा र मालासहित लामवद्घ थिए । पन्चैबाजासहित फूलमालाले पूर्व राजपरिवारका सदस्यहरूको स्वागत गरियो । कार्यक्रमकी प्रमुख अतिथि कोमल फूल लिँदै अघि बढिन् । उनको पछि–पछि थिए— पारस । पातलो ज्यान, कालो चस्मा, ढाकाको टोपी अनि टोपी बाहिर देखिने गरी बाँधिएको पोनिटेलमा प्रस्तुत पारस स्वागतार्थीले दिएको पुष्पगुच्छा लिनुभन्दा पनि घरी आफूभन्दा अघि रहेकी आमा कोमल त घरी आफूभन्दा पछि रहेकी श्रीमती हिमानी नजिक पुगेर फिस्स हाँस्थे । पारसको मुस्कानमा हिमानीको मधुर मुस्कानको जवाफ उनीहरूको उतारचढावपूर्ण सम्बन्ध देखिरहेकाहरूका लागि भिन्न परिघटना थियो ।

करिब १० मिनेट स्वागतमै बिताएपछि राजपरिवारका सदस्यहरू मञ्चमा पुगे । मञ्चमा कोमल र पारसलाई एकै ठाउँमा बस्ने व्यवस्था मिलाइएको थियो । हिमानीका लागि छुट्टै कुर्सी थियो । कोमलको दायाँतर्फ हिमानी र बायाँतर्फ पारसलाई वस्ने व्यवस्था मिलाइएको थियो । मञ्चमा रहदा पारस र कोमल तथा हिमानी र कोमल बेलाबेलामा खासखुस गरिरहेका देखिन्थे । लामो समयदेखि सम्बन्ध चिस्सिएको हल्ला सुनेका दर्शकको ध्यान भने पारस र हिमानीतर्फ नै केन्द्रित थियो । कार्यक्रमका वक्ताहरूले विद्यालयको भौतिक अवस्थाका विषयमा आ–आफ्नो धारणा व्यक्त गरेपनि त्यसले कार्यक्रमका सहभागीहरूको ध्यान खिच्नसके । पारस र हिमानी बोल्लान् कि नबोल्लान्, नजिक बस्लान् कि नबस्लान् अधिकांश विद्यार्थी, अभिभावक तथा स्थानीय बासिन्दाहरू त्यतै नजर लगाउँदै थिए । हिमानी मञ्च अगाडिको खाली भागमा खेलिरहेका बालबालिकाहरूलाई नियाल्दै मुस्कुराउँथिन् । बीचमा कोमल रहेकीले मञ्चमा संवाद नभए पनि पारस र हिमानीबीच हेराहेर भने भैरहेको हुन्थ्यो । दुवै

नजर जुदाउँदै बेलाबखत फिस्स हाँसेको देखिन्थ्यो ।

हिमानीले बनाएको विद्यालय भवनको रिवन काटेर उद्घाटन गर्न पूर्वरानी कोमल शाह समक्ष आग्रह गरिएपछि उनीहरू मञ्च छोडेर नवनिर्मित भवनतर्फ लागे । कोमल अघि लागिन् भने पारस र हिमानी उनको पछि–पछि थिए । उनीहरू नजिकएसँगै खासखुस गरे । उनीहरूले के कुराकानी गरे अरूले भेउ पाउन सकेनन् । उनीहरूबीच संवाद होला कि नहोला भन्ने चासोमा केन्द्रित सहभागीहरू कार्यक्रममा उद्घाटनभन्दा पनि पारस र हिमानीले खासखुस गरेको तस्बिर खिच्न तँछाड–मछाड गर्न थाले । हिमानी भने मोबाइलबाट त्यसरी तस्बिर लिइन थालेपछि हच्किइन् । भवन अवलोकनका क्रममा पनि उनीहरूबीच हेराहेर भयो । उनीहरूले नजिकिएर मन फुकाउँदै लामो कुराकानी भने गरेनन् । एक बालक र विद्यालयका प्रध्यानाध्यापक ओजराज गिरीसँग उनीहरूले सँगै तस्बिर खिचाए । त्यसपश्चात मञ्चमा फर्किएका पारस र हिमानीले पुन: समय–समयमा एक–अर्कालाई हेराहेर गरेको दृश्य दर्शकहरूले देखिरहे । कार्यक्रममा उनीहरूले मन्तव्य भने व्यक्त गरेनन् । कार्यक्रम सकेर उनीहरू छुट्टाछुट्टै गाडीमा फर्किए । विद्यालय परिसरमा छुट्टिने बेला पारसले आमा कोमललाई नमस्कार गर्दै बिदाइ गरे । हिमानीले पारसलाई नमस्कार गरिन्, पारसले ‘सी यू’ भन्दै हात हल्लाए । हिमानी र कोमलको गाडी अघि बढे पनि पारस भने केही समय त्यही अलमलिँदै विद्यार्थी, स्थानीय बासिन्दा तथा शुभचिन्तकहरूसँग सेल्फी खिच्न थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *