उच्च रक्तचाप भए, नभएको कसरी थाहा पाउने ?

उच्च रक्तचाप (हाई ब्लडप्रेसर) मुत्युको प्रमुख कारणमध्ये एक बन्दै गएको छ । धेरै अवस्थामा यो रोग आधुनिक सभ्यता, मानसिक तनाव र जीवनशैली परिवर्तनको नजिता हो । उच्च रक्तचाप खतरनाक रोग हो । नेपालमा दिन प्रतिदिन यो रोग बढ्दै गैरहेको छ । नेपालका विभिन्न क्षेत्रमा गरिएको सर्वेक्षण अनुसार ठाउँ हेरिकन ५ देखि २० प्रतिशत जनतालाई उच्च रक्तचाप भएको फेला परेको छ । यस रोगले कुनै पनि लक्षण नदेखाइकन नै विरामीका प्रमुख अङ्गहरु मुटु, मिर्गौला, आँखा, दिमाग आदिलाई क्रमिक रुपले खत्तम पार्दै लगेर विरामीलाई मृत्युको मुखमा पु¥याउँछ । यसै कारण उच्च रक्तचापलाई सुषुप्त हत्याराको संज्ञा दिइएको छ । तसर्थ उच्च रक्तचापको नियन्त्रण गर्न सके ठूलो खतराबाट जोगिन सकिन्छ ।

मुटु शरीरको एक महत्वपूर्ण अङ्ग हो जुन नियमित रुपमा खुम्चने र फुक्ने गर्छ । यसलाई हामी मुटुको धड्कन भन्दछौं । शरीरमा रक्तसंचारका लागि मुटुले पम्पको काम गर्छ । मुटु खुम्चदा शरीरका विभिन्न अङ्गमा सफा रक्तसंचार हुन्छ भने मुटु फुक्दा शरीरका विभिन्न अङ्गहरुबाट प्रदूषित रगत मुटुमा जम्मा हुन आउँछ । यो खुम्चने र फुक्ने प्रक्रियालाई क्रमशः सिस्टोल र डास्टोल भनिन्छ । रक्तनलीमा रक्तसञ्चार हुँदा उत्पन्न हुने चापलाई रक्तचाप भनिन्छ । रक्तचापका दुई भाग हुन्छन्ः सिस्टोलिक र डायस्टोलिक ।

मुटु खुम्चिएको बेला मुटुबाट बेगसाथ निस्केको रगतले रक्तनलीमा दिएको चापलाई स्टिोलिक रक्तचाप भनिन्छ भने मुटुको डायस्टोलको अवस्थामा रक्तनलीमा उत्पन्न हुने चापलाई डायस्टोलिक रक्तचाप भनिन्छ । सिस्टोलमा रक्तचाप बढी र डायस्टोलमा कम हुन्छ । स्वस्थ मानिसमा स्टिोलिक रक्तचाप ९० मि.मि. देखि १४० मि.मि.सम्म र डायस्टोलिक रक्तचाप ६० मि.मि. देखि ९० मि.मि.सम्म हुन्छ ।

विश्व स्वास्थ्य संघको परिभाषा अनुसार स्टिोलिक रक्तचाप १४० मि.मि. वा बढी भएमा र डायस्टोलिक रक्तचाप ९० मि.मि. वा बढी भएमा यस्ता व्यक्तिलाई उच्च रक्तचाप भएको मानिन्छ । कुनै पनि व्यक्तिको पूर्ण मानसिक तथा शारीरिक विश्रामको अवस्थामा दिनको एउटै प्रहारमा दुई वा सोभन्दा बढी पटक उच्च रक्तचाप भएको पाइएमा उसलाई उच्च रक्तचापको रोगद्वारा पीडित व्यक्ति भनेर भन्न सकिन्छ । एकै पटक मात्र उच्च रक्तचाप भएको भेटिँदैमा उच्च रक्तचापको रोगीको संज्ञा दिन मिल्दैन ।

उच्च रक्तचापका रोगीमध्ये ९० देखि ९५ प्रतिशत रोगीमा उच्च रक्तचापको कारण यो नै हो भनेर ठम्याउन सकिँदैन । अर्थात् कारण अज्ञात रहन्छ । यसप्रकार कारण अज्ञात रहेको उच्च रक्तचापलाई प्राथमिक उच्च रक्तचाप भनिन्छ । कारण अज्ञात रहे पनि केही यस्ता कारक तत्वहरु वर्णन गरिएका छन् जसले प्राथमिक उच्च रक्तचाप उत्पन्न गराउनमा सहयोग पु¥याउँछन् । ५ देखि १० प्रतिशत उच्च रक्तचाप भएका रोगीहरुमा उच्च रक्तचापको कारण यो नै हो भनेर ठम्याउन सकिन्छ । यी रोगीहरु धेरैजसो ३० वर्षभन्दा कम उमेरका हुन्छन् र उनीहरु कुनै शारिरीक रोगबाट पीडित हुन्छन् । जुन रोगको कारणबाट नै उच्च रक्तचाप विकास भएको हुन्छ । यस प्रकार कुनै विशेषका कारण उत्पन्न भएको उच्च रक्तचापलाई सेकेन्ड्री उच्च रक्तचाप भनिन्छ । यी कारक रोगहरुको उपचार गरेमा सेकेन्ड्री उच्च रक्तचाप ठीक भएर जान्छ ।

सेकेन्ड्रि उच्च रक्तचापका कारण

मिर्गौलाका रोगहरु
मिर्गौलामाथि रहेको एड्रिनल ग्रन्थीका रोगहरु
मिर्गौलामाथि रहेको ग्रन्थीको ट्यूमर
गलगाँड (कण्ड ग्रन्थी) का रोगहरु
रक्तनली साँगुरिने रोगहरु
स्टेरोइड जातका औषधिको सेवन

उच्च रक्तचाप भए, नभएको कसरी थाहा पाउने ?

उच्च रक्तचाप भए, नभएको थाहा पाउने एउटै मात्र उपाय रक्तचाप नाप्ने हो । रक्तचाप बढेको कुरा नापेर मात्र थाहा हुन्छ, लक्षणमा भर पर्नु हुँदैन । किनकि उच्च रक्तचापको कुनै पनि लक्षण नहुन सक्छ । ३० वर्ष उमेर काटिसकेका स्वस्थ व्यक्तिले कम्तिमा वर्षको १ पल्ट रक्तचाप नाप्नु आवश्यक हुन्छ । टाउको दुख्ने, चक्कर लाग्ने, छाती दुख्ने, दम फुल्ने, नाकबाट रगत आउने आदि भएमा तुरुन्त रक्तचाप जँचाउनु पर्छ । उच्च रक्तचाप उत्पन्न गराउने कारक तत्वहरुको जोखिममा रहेका व्यक्तिहरुले नियमित रुपमा कम्तिमा ३ महिनामा १ पल्ट रक्तचाप जँचाउनु आवश्यक हुन्छ ।
उच्च रक्तचापको जोखिममा को को ?

परिवारमा उच्च रक्तचाप, हृदयाघात, पक्षाघात, मिर्र्गौलाघात, दृष्टिघात आदि भएका
शारीरिक तौल आवश्यक भन्दा बढी भएका
गर्भवती महिला
गर्भनिरोधक (परिवार नियोजनका) चक्की प्रयोग गर्दै गरेका महिला
धुम्रपान गर्ने व्यक्ति
उच्च रक्त कोलेस्टेरोल भएका व्यक्ति
अत्यधिक मदिरा सेवन गर्ने व्यक्ति
उपचार

उच्च रक्तचापको उपचार निकै कठिन छ । पछिल्लो समयमा विज्ञानको विकासको फलस्वरुप यस रोगको उपचारका धेरै प्रभावशाली उपाय पत्ता लागिसकेका छन् । उच्च रक्तचाप नियन्त्रण गर्ने थुप्रै औषधि बजारमा उपलब्ध छन् । बिरामीहरु एकै पल्ट उच्च रक्तचाप नियन्त्रण गर्ने औषधि शुरु गरीहाल्न मन पराउँदैनन् । कतिपय बिरामीले औषधि नै खाँदैनन् भने कतिपयले शुरु गरे पनि रक्तचाप नियन्त्रण भएपछि औषधि छाडिदिन्छन् । यस प्रकार औषधि छाड्नु हुँदैन भन्ने ज्ञान बिरामीमा छैन । उच्च रक्तचापको उपचारमा ठूलो कठिनाई भनेको यस्तै बिरामीमा उच्च रक्तचापको उपचारप्रतिको अज्ञानता र गलत सोचाइ हटाउनु नै हो । उच्च रक्तचापको औषधि शुरु गरेपछि जिन्दगीभर खाइरहनु पर्छ, यसले शरीरमा साइड इफेक्ट गर्छ, नराम्रो बानी लाग्छ आदि सोचाई राखेर औषधि सेवन गर्न नमान्ने र सेवन गरेपनि बीचमै उपचार रोक्ने जस्तो सोचले आम नेपालीमा जरा गाडेको छ । यो जरालाई उखेलेर फाल्नु र रोगीहरुमा उपचारप्रति विश्वास जागृत गराउनु ठूलो सफल कार्य हुने छ ।

अलिअलि मात्र रक्तचाप बढेका रोगीहरुलाई रक्तचाप घटाउने औषधि शुरु गराई हाल्नुपर्छ भन्ने छैन । औषधि बाहेक रक्तचाप घटाउने यस्ता थुप्रै उपाय छन् जसका बारेमा रोगीलाई चिकित्सकले जानकारी गराउनु आवश्यक हुन्छ । यी उपायहरुबाट पनि उच्च रक्तचापको नियन्त्रण नभएमा मात्र औषधि शुरु गर्नुपर्छ । तर कसैको रक्तचाप अत्यधिक मात्रामा बढेको छ र यसले शरीरमा नकारात्मक असर पारी डरलाग्दा परिणाम ल्याउन सक्ने खतरा देखिन्छ भने औषधिको प्रयोग तुरुन्त गरिहाल्नु पर्छ । साथमा अन्य उपायको पनि प्रयोग गर्दै गरेमा औषधिको सट्टा रक्तचाप नियन्त्रणका अन्य विधि अवलम्बन गर्न लगाउने भन्ने कुराको निर्णय चिकित्सकले गर्नेछन् । यो कुरामा रोगीले सहमति जनाउनु पर्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *