विरुवा गाउँपालिकाको भ्यु टावर निर्माणमा व्यथिति


हुम गुरुङ
पोखरा, असोज ३०
बिरुवा गाउँपालिकाको वडा नं–२ श्रीडाँडा र बेसरडाँडाको सिमाना समिडाँडामा निर्माणधिन भ्यू टावरमा व्यथिति भएको पाईएको छ । गाउँपालिकाकै गौरवको योजना हुनुपर्ने भ्यू टावरको निर्माण अहिले लथालिंग अवस्थामा छ ।
२०७५÷७६ मा गण्डकी प्रदेश सरकारले ४० लाख र गाउँपालिकाले १० लाख गरी जम्मा ५० लाख बजेट बिनियोजन गरी निर्माण सुरु गरिएको भ्यू टावरको डीपीआर (डिटेल प्रोजेक्ट रिपोर्ट) समेत नगरेको पाईयो । ‘गाउँपालिकाकै प्राविधिकले सामान्य नक्सा बानएको तर कूल खर्च कति लाग्ने, भ्यू टावर कति क्षमताको हुने र कहिले सम्म निर्माण सम्पन्न गरिसक्ने ? भन्ने गरी डीपीआर तयार नगरिएको गाउँपालिका अध्यक्ष चुन प्रसाद शर्माले जानकारी दिए ।’
भ्यू टावर परियोजनाको डीपीआर नै तयार नगरिकन हचुवाको भरमा उपभोक्ता समिति गठन गरि काम सुरु गरिएको छ । कतिसम्म भने भ्यू टावर निर्माणको लागि उपयुक्त ठाउँ छनोट गर्न समेत छलफल नगरी गाउँपालिंका अध्यक्ष र वडा नम्वर २ का अध्यक्ष बुद्धबहादुर आलेको मनमर्जीमा पक्का गरिएको थियो । गाउँपालिका स्तरको परियोजना भए पनि उपभोक्ता समिति गठन गर्दा वडा नम्वर २ को श्रीडाँडा र बेसारडाँडा गरी २ टोलका नेकपा इतरकालाई मात्रै समितिमा राखिएको छ । श्रीडाँडा निवासी स्थानीय टीका आलेको संयोजकत्वमा उपभोक्ता समिति गठन गरिए पनि स्वयम संयोजकलाई कति सदस्यीय समिति गठन गरियो त्यो समेत थहा छैन ।
७५÷७६ मा प्रदेश र गाउँपालिकाबाट गरी ५० लाख बजेट बिनियोजन भए पनि उपभोक्ता समितिले काम गर्न नसक्दा ३० लाख मात्रै खर्च भएको र अरु २० लाख खर्च गर्न नसकेपछि फिर्ता भएको बुझिएको छ । खर्च भएको ३० लाख रकमबाट भ्यू टावरको डीभीसी मात्रै गरिएको छ । ७६÷७७ मा बजेट नआए पछि थप काम हुन नसकेको उपभोक्ता समिति संयोजक आलेले जानकारी दिए । थप काम हुन नसक्दा निर्माणाधीन भ्यू टावर अलपत्र अवस्थामा रहेको छ । पिल्लरको लागि ठडाईएको रडहरु समेत खिया लागेको अवस्थामा छ ।
वडा नम्वर २ निवासी स्थानीय एवं नेकपा स्याङ्जा जिल्ला सदस्य समेत रहेका तिलबहादुर गुरुङ्ले भने भ्यू टावरको निर्माण कहिँ कतै छलफल नै नगरी गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्मा र २ नम्वर वडाध्यक्ष बुद्धबहादुर आलेले हचुवाको भरमा काम सुरु गरेकोे बताए । उपभोक्ता समिति गठन गर्दा समेत एमाले निकटकालाई मात्रै समितिमा राखिएको उनले आरोप लगाए ।
गाउँपालिका अध्यक्ष चुन प्रसाद शर्माले भने पहिलाको उपभोक्ता समिति काम चलाउ मात्रै भएकाले अब पुन अर्को पूर्ण र सक्षम उपभोक्ता समिति गठन गर्न सकिने जानकारी दिए । ‘पुरानै उपभोक्ता समितिलाई केही हेरफेर गर्न पनि सकिन्छ र पुरै नयाँ समिति पनि बन्न सक्छ ?’ उनले भने । अध्यक्ष शर्माको अनुसार आर्थिक वर्ष २०७७÷७८ मा गाउँपालिकाबाट १५ लाख बजेट भ्यू टावरको लागि गाउँपाकिाबाट छुट्ट्याईएको छ ।
फोटोहरुः








Facebook Comments