विप्लवलाई प्रतिवन्ध लगाउन प्रचण्डको पनि समर्थन !


३० फागुन, काठमाडौं । विप्लव समूहलाई प्रतिवन्ध लगाइएको विषयमा नेकपाका शीर्षनेताहरुले नै प्रश्न उठाइरहेका बेला बिहीबार अध्यक्षसहित ५ शीर्षनेताको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांगठनिक एकताबारे छलफल गर्न नेताहरुलाई बालुवाटारमा बोलाएका थिए ।
स्रोतका अनुसार दुबै अध्यक्षले तत्कालीन एमाले र माओवादीबाट ३/३ जना बोलाउने भनिएको थियो । एमालेबाट वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहभागी भए । तर, माओवादीबाट नेताहरुलाई बोलाइएन ।
सांगठानिक एकताबारे हाम्रोतिर खासै समस्या नभएकाले अरु नेताहरु सहभागी नहुनु भएको हो’ अध्यक्ष प्रचण्डनिकट स्रोतले अनलाइनखबरसँग भन्यो ।
विप्लवबारे के भयो छलफल ?
सांगठानिक एकताबारे छलफल गर्न बोलाइएको भए पनि नेताहरुले सिके राउतसँग गरेको सहमति र विप्लवमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको विषयमा पनि उठाएका छन् ।
बैठकमा माधवकुमार नेपालसहितका नेताहरुले निर्णय गर्नुपूर्व पार्टीमा छलफल नभएको भन्दै प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्टि जनाएका थिए ।
प्रधानमन्त्री ओलीले भने विप्लव समूहमाथि प्रतिबन्ध लगाउनुपर्ने अवस्था आइसकेको स्पष्टीकरण दिएका छन् । सिके राउतसँग भएको सहमतिको पनि उनले बचाउ गरेका छन् ।
विप्लव प्रतिबन्धमा प्रचण्डको समर्थन !
विप्लवमाथिको प्रतिबन्धलाई लिएर असन्तुष्टि जनाउने नेकपाका धेरै नेताहरुको गुनासो, पार्टीमा छलफल भएन भन्ने मात्रै रहँदै आएको छ । माधवकुमार नेपाल स्वयंले यस्ता निर्णयहरु हुँदा पार्टीमा छलफल नभएकाले अपरिपक्ज भनिसकेका छन् । बालुवाटारमा पनि उनले सोही कुरा दोहोर्याए ।
Facebook Comments