लाटी पुतलीको फड्को

चार वर्षमै स्टारडम हासिल गर्ने विरलै हुन्छन् । त्यही विरलै सफलता प्राप्त गर्ने भाग्यमानीमा पर्छिन्— अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह । सन् २०१६ मा पहिलो पटक चलचित्र ‘ड्रिम्स’ मा देखिएपछि उनको आकर्षक शारीरिक लुकसँगै उम्दा अभिनयको विशेष चर्चा हुन थालेको हो । आफूले पदार्पण गरेको चलचित्रबाटै उत्कृष्ट नवनायिकाको एवार्ड हात पारेपछि उनको चर्चा थप चुलियो । साम्राज्ञीको ग्ल्यामर संसारको यात्रा सन् २०१४ मा फेस अफ क्लासिक डाइमन्ड ज्वेलरीबाट सुरु भएको हो, जसमा उनी दोस्रो भएकी थिइन् ।

यति छोटो अवधिमै प्राप्त सफलताको रहस्य के हो ? ‘ड्रिम्समा भुवन अंकलले काम गर्ने अवसर दिनुभयो । उहाँको ब्यानर वान अफ द बेस्ट ब्यानर हो,’ साम्राज्ञी भन्छिन्, ‘त्यसमाथि अनमोलको भव्य फ्यान फ्लोइङ, अडियन्सलाई मेरो एक्टिङ नेचुरल र राम्रो लाग्नु पनि यो सफलताको कारण हो ।’ साम्राज्ञी पछिल्ला चार वर्षमा कायम राखेको क्रियाशीलताकै कारण पनि आफ्नो मार्केट भ्यालु बढेको मान्छिन् ।

साम्राज्ञीलाई थाहा छ— अलिकति ग्याप हुने बित्तिकै आफ्नो स्पेश नयाँ मान्छेले उछिट्टयाइहाल्छन् । अझ कलाकारितामा दैनिक नयाँ अनुहारको प्रवेश भैरहन्छ । म सोसल मिडिया तथा मिडियाबाट पनि दर्शकहरूसँग जोडिने प्रयास गरिरहेकी हुन्छु, साम्राज्ञी भन्छिन्– त्यसले गर्दा पनि छोटै समयमा यो उचाइ हासिल गर्न सकेकी हुँ । साम्राज्ञी चलचित्रमा चुजी मात्र देखिइनन्, हाइ डिमान्ड पनि उनको स्टारडमको अर्को कारण बन्यो । निर्माताहरू उनलाई मागेकै पारिश्रमिकमा अनुबन्धित गर्न तँछाड—मछाड गर्छन् । कतिसम्म भने नायक आर्यन सिग्देलले त उनलाई ५० लाख रुपैयाँमा अनुबन्ध गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति नै दिए ।

सिक्ने प्रयासले सदैव नयाँ कुरा सिकाउँछ । साम्राज्ञीमा पनि त्यही गुण छ, त्यसैले त उनी हरदम नयाँ अनुभव बटुल्न लालायित हुन्छिन् । कसैलाई रोलमोडल नबनाएकी यी उम्दा अभिनेत्रीलाई सबैभन्दा मनपर्ने अभिनेत्री एन्जेलिना जोली हुन् ।

साम्राज्ञी पनि सानोमा ऐना अगाडि झुम्मिन्थिन्, नाच्थिन् । चलचित्र अथवा पुस्तकको कुनै क्यारेक्टर मन पर्‍यो भने उनलाई त्यही बन्नुपथ्र्यो । उनको बाल्यकालको सपना एयरहोस्टेज वा इन्टरनेसनल मोडल बन्ने थियो । कालान्तरमा उनी न मोडल बनिन्, न एयरहोस्टेज । उनका अभिभावकले उनको सपनामा कुनै व्यवधान खडा गरेनन्, स्वतन्त्र फैलन दिए । त्यही फैलावटमा स्टार साम्राज्ञी बनिन् ।

साम्राज्ञीले अहिलेसम्म न नृत्य सिकेकी छिन् न त अभिनयको प्रशिक्षण नै लिएकी छिन् । सुटिङपूर्वका वर्कसपबाटै आफ्नो अभिनयमा निखार आएको साम्राज्ञीको अनुभव छ । उनी अभिनय नै नसिकी उम्दा अभिनय गर्ने विरलै अभिनेत्रीभित्रमा पर्छिन् । अहिले स्नातक अध्ययनरत साम्राज्ञीको सौन्दर्यको रहस्य के होला ? सम्भवत: बुवाआमा दुवै राम्रा भएकाले होला म पनि राम्री भएकी— साम्राज्ञीको जवाफ थियो ।

बाल्यकाल 

साम्राज्ञीको बाल्यकालको नाम प्रियंका हो । उनको जन्म वीरगन्जमा बसोबास गर्ने गोर्खाली शाह परिवारमा भएको हो । विकासविक्रम शाह तथा नेहाराज्यलक्ष्मी शाहकी छोरी साम्राज्ञीले बाल्यकालका केही वर्ष मात्र वीरगन्जमा बिताइन् । सानोमा उनी अलि डराउने, लजालु अनि आज्ञाकारी स्वभावकी थिइन् । त्यसैले कतिले उनलाई ‘लाटी पुतली’ भन्थे । खेतमा कुद्नु, दौडनु, माटोको भाँडाकुँडा बनाउनु, ड्रागन फ्लाई समात्नु तथा झ्यानाकुटी झ्याइँ खेल्नु उनका रुचीका विषय थिए ।

वीरगन्जस्थित उनको परिवारको स्वामित्वमा रहेको घर भाडामा लिएर डिएभी स्कुल खोलिएको थियो । त्यहीँ उनले कक्षा २ सम्म पढिन् । डिएभीले होस्टेल पनि त्यही बनाएको थियो । होस्टलको वातावरणले उनलाई साह्रै लोभ्यायो । २ कक्षा उत्तीर्ण भएपछि साम्राज्ञीलाई अभिभावकले नयाँ दिल्लीस्थित साइबाबा गल्र्स स्कुलमा भर्ना गरिदिए । त्यहाँ उनले चार वर्ष बिताइन् । साइबाबाबाट ६ कक्षा उत्तीर्ण गरेपछि उनी काठमाडौं आइन् । काठमाडौंस्थित रोयल एकेडेमी अफ इण्डियामा उनले ७ कक्षादेखिको पढाइ अघि बढाइन् । ९ वर्षे होस्टेल जीवनमा उनले धेरै कुरा सिकिन् । साम्राज्ञी साइबाबा गल्र्स होस्टलको कडा अनुशासनका बीच हुर्किएकी थिइन् भने काठमाडौंको रोयल एकेडेमी अफ इन्डियामा पनि कडा अनुशासन थियो ।

जीवनशैली

साम्राज्ञी सधैजसो ७–८ बजेसम्म ओछ्यान छोडिसक्छिन् । त्यसपछि उनी एक घण्टा कार्डियो एक्ससाइज गरेर स्पोर्टस सुज, मास्क अनि टोपी लगाएर १ घण्टा दौडन्छिन् । त्यसपछि घर फर्केर उनी पुन: आफ्नो नियमित काममा जुट्छिन् । सुटिङ नभएको दिन उनको औपचारिक रुटिङ १०–११ बजे प्रारम्भ हुन्छ ।

खानामा भने उनको कुनै खासै मेनु छैन । मीठो भएपछि जे पाए पनि खान्छु, उनले सुनाइन्– ‘यो वा त्यो भन्ने छैन, दुब्लाउनु छ भने भात खान छाडिदिन्छु । उनी कि त रोटी खान्छिन्, कि त शाकाहारी सुप मात्र ।

पहिले उनी बिहानै ब्रेकफास्ट खान्थिन्, अहिले भने उनले ब्रेकफास्ट खानसमेत बन्द गरिसकेकी छिन् । अहिले उनी दिउँसो १–२ बजे लन्च लिन्छिन् । त्यसमा पनि साधारण परिकार हुन्छन् । काममा हुँदा भने उनी खाना खान समेत पटक–पटक बिर्सिने कुरा बताउँछिन् । उनलाई साग सबैभन्दा बढी मन पर्छ, त्यसबाहेक करेला र परबल पनि उनलाई मन पर्ने तरकारी हुन् । कोरियन परिकार विशेष मन पराउने साम्राज्ञी जापानी तथा चिनियाँ परिकार पनि उत्तिकै मन रुचाउँछिन् ।

फुर्सदमा उनी साथीहरूलाई घरमा बोलाउँछिन् । उनीहरूलाई लिएर छतमा उक्लिन्छन्, त्यहाँ म्युजिक सुन्ने, गफ गर्ने, जिस्कने, चलचित्र हेर्ने, चिया तथा खानेकुरा खाने क्रम चल्छ । उनका एकदमै कम साथी छन् । त्यसो भए छतमा उनलाई कम्पनी दिन आउने साथीहरूको संख्या कति छ त ? ४–५ जना साथी छन्, साम्राज्ञी भन्छिन्– जसलाई म सबै कुरा विश्वास गर्छु, भन्नका लागि साथीहरू त टन्नै छन् । उनको कम्पनी जम्ने साथीहरू त्यस्ता स्वभावका छन्, जसका अगाडि बोल्नुअघि सोच्नु पर्दैन, उनीहरू उनलाई जज, जेलस र ब्याकबाइट गर्दैनन् ।

पोडी सङ उनलाई साह्रै मन पर्छन् । उनी पप र इडियम बढी सुन्छिन् । रिहाना उनकी फेबरेट गायिका हुन् । साम्राज्ञी कहिलेकाहीँ साथीहरूलाई लिएर लङ ड्राइभिङमा निस्कन्छिन् । काठमाडौं वरपरका डाँडातिर गीत सुन्दै लङ ड्राइभमा जान पनि साह्र मज्जा हुन्छ, साम्राज्ञी भन्छिन्– त्यहाँ गफ गर्‍यो बस्यो, साथीहरूसँगै आफूलाई मनपर्ने खाने कुरा खायो ।

कहिलेकाहीं बिहान भगवानको पुजा पनि गर्छिन्, तर दिनहुँ पूजा गर्ने बानी छैन । भगवान् शिव उनलाई मनपर्ने देवता हुन् । साम्राज्ञी भन्छिन्– शिवको तेस्रो आँखा सम्भँmदा मलाई डर पनि लाग्छ ।

किनमेलका लागि उनी छुट्टै योजना बनाउँदिनन् । मन परेको जे देख्यो त्यही किन्छिन् । साम्राज्ञीले किनमेल गर्ने ठाउँ दरबारमार्ग र लबिम मल हो । मिनी, ककटेल तथा वान पिस मनपर्ने पहिरन हुन््, तर डेनिमको स्कर्ट, सिम्पल सर्ट तथा स्पोर्टस सुजमा उनी कम्फर्ट फिल गर्छिन् । उनको सुत्ने कोठामा सेतो रंंगका सामान बढी छन् । प्रिन्सेस बेड, दराज, मेकअप ड्रेसिङ टेबल सबै सेतै । मलाई सेतो र कालो रंग एकदमै मन पर्छ, साम्राज्ञी भन्छिन्– कोठाको रंग हल्का प्याजी छ ।

साम्राज्ञी फेसबुक, इन्स्ट्राग्राम तथा स्न्याप च्याटजस्ता सोसल मिडियाको म्यानेजमेन्ट आफैं गर्छिन् । फेसबुकमा स्टाटस लेख्दिनन्, तस्बिरहरू भने नियमितजसो अपलोड गर्छिन् । म्यासेजको थुप्रो लाग्छ । राम्रा म्यासेजमा भने उनी कहिलेकाही रिप्लाई गर्छिन्, केही नराम्रा म्यासेजले भने उनलाई दिक्क बनाउँछ ।

साम्राज्ञी मुडी स्वभावकी छिन्, उनको मुड एकदमै स्वीङ हुन्छ । केही रिसाउने बानी पनि छ । रिस उठेका बेला उनी जोसँग रिस उठेको छ त्यसका अगाडि बस्दिनन् । २२ वर्षको उकालो हिँडिरहँदा उनी अहिले पनि आफूलाई कच्चा मान्छिन् । म बाठी भए पनि एकदम कच्चा छु, चाँडै मानिसहरूलाई विश्वास गर्ने, मीठो बोल्यो भने एकैछिनमा पग्लिहाल्ने बानी छ, –साम्राज्ञीले बताइन् । मुडी देखिने साम्राज्ञीसँग मित्रता गाँस्न सजिलो छैन, जति उनीसँग मित्रता गाँस्न गाह्रो छ, एकपटक मित्रता गाँसिकेपछि छुट्टिन पनि त्यत्तिकै साह्रो छ ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *