महाकालीमा पुल निर्माण गर्न भारतलाई अनुमति

दार्चुला — व्यास गाउँपालिकाका ४ ठाउँमा महाकाली नदीमा नेपाल–भारत जोड्ने काठेपुल निर्माण गरिने भएको छ । दुवै देशका स्थानीय बासिन्दाको मागका आधारमा काठेपुल निर्माण हुन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गत वर्षको फागुनमा नेपाल–भारत महाकाली नदीस्थित भारतीय पक्षले लखनपुरमा बनाएको अस्थायी काठेपुल । उक्त काठेपुल गत असारमा महाकाली नदीमा पानीको सतह बढेपछि बगाएको थियो ।

भारतीय क्षेत्रमा सडक निर्माणको काम चालु हुँदा दुवै देशका बासिन्दाले हिँड्ने पैदल मार्ग अवरुद्ध भएकाले महाकालीमा काठेपुल निर्माण गर्न माग गरिएको थियो । भारतीय पक्षले लखनपुर र नजांग तथा नेपाली पक्षले दुम्लिङ र मालमामा अस्थायी काठेपुल निर्माणका लागि माग गरेका थिए ।

पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत उत्तरी क्षेत्रका बासिन्दाको आउजाउ तथा मानसरोवर जाने भारतीय तीर्थयात्रीको सहजताका लागि भारतीय पक्षले अस्थायी काठेपुल बनाउन माग गरेको थियो । स्थानीयको समस्या मध्यनजर गरी मन्त्रालयबाट समेत अनुमति आइसकेपछि पुल बनाउन सकिने विषयमा भारतीय प्रशासनलाई जानकारी गराइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।

‘पिथौरागढ जिल्लाको धारचुला तहसिलको उत्तरी क्षेत्रमा पर्ने लखनपुर र नजांगमा काठेपुल निर्माण गर्न गत बिहीबार भारतीय पक्षले माग गरेको थियो,’ आचार्यले भने, ‘हाम्रो गृह मन्त्रालयबाट असोज १७ गते बुधबार अनुमति आइसकेको छ । बुधबार सरोकारवाला निकायसित छलफल गरी भारतीय पक्षलाई काठेपुल निर्माणका लागि सहमति दिइसकेका छौं ।’ उक्त समस्या दुवै देशका बासिन्दाको साझा समस्या भएकाले अस्थायी रूपमा पुल निर्माण गर्न भारतीय पक्षलाई अनुमति दिइएको उनले बताए ।

भारतीय पक्षले लखनपुरदेखि माथि लिपुलेकसम्म सडक निर्माण तीव्र गतिमा गरिरहेको हुँदा उसका क्षेत्रमा पैदल यात्रा गर्न नसकिएपछि पुल निर्माणका लागि अनुरोध गरेको थियो । योसँगै भारतीय व्यापारीका चीनबाट यो क्षेत्र हुँदै आउने मालसामान ढुवानी सहज हुनेछ ।यस्तै व्यास गाउँपालिका १ र २ वडाका बासिन्दा सदरमुकाम आवतजावत गर्न र व्यासी सौका समुदायको बसाइँसराइ मध्यनजर गर्दै भारतीय पक्षसँग दुई ठाउँमा अस्थायी काठेपुल निर्माणका लागि नेपाली पक्षबाट पनि माग भएको थियो ।

सुरक्षा निगरानी बढाउनुपर्ने
सामरिक महत्त्व बोकेको यहाँको त्रिदेशीय सीमा क्षेत्र विगतदेखि नै वन्यजन्तुको आखेटोपहार ओसारपसारको मुख्य नाका मानिन्छ । अहिले यो अपीनाम्पा संरक्षण क्षेत्रभित्र पर्ने भएका गृह प्रशासन र संरक्षण क्षेत्रको पहलमा यहाँ सुरक्षा व्यवस्था गर्नुपर्ने देखिन्छ ।

काठेपुल निर्माणको अनुमति दिइसकेपछि सुरक्षा व्यवस्थाबारे बुझ्दा प्रजिअ आचार्यले भने अहिले अस्थायी प्रहरी पोस्ट दुम्लिङले निगरानी गर्ने र केही समयपछि तिंकर र सीतापुलको प्रहरी पनि दुम्लिङमा झर्ने हुँदा निगरानीमा कमी नहुने बताए । साथै अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयको पनि दुम्लिङमा गेम स्काउटको पोस्ट रहेको र यसैसँग समन्वय गरी सुरक्षा प्रबन्ध मिलाइने उनको भनाइ छ ।

भारतीय पक्षले उक्त क्षेत्रमा पुल निर्माण अनुमति मागको जानकारी पाएलगत्तै अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयले प्रशासनलाई आवश्यक सुझाव पेस गरेको जनाएको छ । संरक्षण कार्यालयका निमित्त प्रमुख पशुपति अधिकारीका अनुसार गत वर्षदेखि नै उक्त क्षेत्रमा भारतीय पक्षले नेपाली भूमिमा भारतबाट बन्दुकले ताकेर भालु मारेको स्थानीयमार्फत जानकारी आएको बताए ।

गत वर्ष भारतीय पक्षले नेपालको अनुमतिबिना महाकालीमा काठेपुल र धेरै ठाउँमा डोजर सञ्चालन गरेको थियो । पछि नेपाली पक्षको अनुमति लिएर दुई ठाउँमा काठेपुल निर्माण गरेको थियो । तर, काठेपुल निर्माण गरेको नेपाली क्षेत्रमा सुरक्षा प्रबन्ध दिन सकेको थिएन । भारतले भने काठेपुल राखेको दुवै स्थानमा सुरक्षा निगरानी बढाएको थियो । सौका समुदाय चिसो छल्न ६ महिना सदरमुकाम र ६ महिना व्यासमा बस्ने गर्छन् । कात्तिक अन्तिम र मंसिरको सुरुसम्म यो समुदाय बेंसी झरिसक्छ । महाकालीमा पुल नहुँदा तुइनकै सहारामा आउजाउ गर्थे ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *