भारतबाट फर्केका दुई व्यक्तिको र्यापिड टेस्टमा पोजेटिभ नतिजा, पिसिआरमा देखियो नेगेटिभ


भारतको दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्किएका सप्तरीका दुई जना व्यक्तिमा र्यापिड टेस्ट गर्दा पोजेटिभ देखिए पनि पिसिआरमा गरिएको परीक्षणमा भने नेगेटिभ आएको छ।धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पिसिआर प्रविधि जाँच गर्दा उनीहरूमा कोरोना भाइरस नेगेटिभ देखिएको हो।
मंगलबार र्यापिड टेस्ट गर्दा उनीहरूमा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएपछि स्वाब परीक्षणको लागि धरान पठाइएको थियो। उनीहरू गत महिना दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्केका थिए।र्यापिड टेस्टमा पोजेटिभ आएपनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण नहुन सक्छ। त्यसैले र्यापिड टेस्ट पोजेटिभ देखिए एकीन गर्न पिसिआर परीक्षण गर्नुपर्छ।र्यापिड टेस्टले शरीरमा भाइरसविरुद्ध लड्ने एन्टिबडी उत्पादन भयो वा भएन भनेर पत्ता लगाउने हो। यो एन्टिबडीले भाइरसलाई खाइदिन्छ र नयाँ संक्रमण हुन नदिन मद्दत गर्छ।
तर कहिलेकाही कोरोना भाइरस शरीरबाट मरे पनि एन्टिबडी भने रहिरहन सक्छ। त्यसैले पिसिआरले नेगेटिभ देखाएपनि र्यापिड टेस्टले पोजेटिभ देखाउन सक्छ।
Facebook Comments