भानुभक्त माविको ३४ औँ वार्षिकोत्षव तथा अभिभावक दिवस


पोखरा – १ सिम्पानीमा रहेको भानुभक्त आवासिय माध्यमिक विद्यालयले (स्कुल अफ ल) ले आफ्नो ३४ औँ वार्षिकोत्षव तथा अभिभावक दिवस यही फागुन ३ गते सम्पन्न गरेको छ । यस अवसरमा विभिन्न विधाका जना व्यक्तित्वलाई अभिनन्दन गरेको छ । अभिनन्दन हुनेमा वरिष्ट कार्टुनिष्ट दुर्गा बराल (बात्सायन), नाट्यकर्मी प्रकाश घिमिरे, नृत्य प्रशिक्षक मेनकाजी गुरुङ, संगीतकार सामसुङ गुरुङ, तेक्वान्दो खेलाडी हरिशचन्द्र पोख्रेल र हस्तकला व्यवसायी (हेन्डीक्राफ्ट) सीता गुरुङ रहेका थिए । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि संघिय संसदिय दल नेपकाका सचेतक माननीय श्री शान्ता चौधरीले सम्मानपत्र प्रदान गरी सम्मान गर्नु भएको थियो । त्यस अवसरमा चौधरीले पढ्न पाउनु आफ्नो भाग्य सम्झेर यस अवसरलाई राम्रोसँग सदुपयोग गर्न आग्रह गर्नु भएको थियो ।
उहाँले भन्नुभयो – पढ्न पाउने बालबालिकाको अधिकार हो । तर अझै कति बालबालिकाहरु विभिन्न कारणले पढ्न पाएका छैनन् । यस्ता बालबालिका तर्फ पनि हाम्रो ध्यान जानु जरुरी छ । पढ्न नपाउँदा आफूले भोगेको दुःख स्मरण गर्दै पढ्नु पाउनु जस्तो ठूलो कुरा अरु केही नभएको बताउनु भयो । पत्रपत्रिकामा भाँडा माझ्दा माझ्दै सांसद, ल्याप्चे सांसद भनेर समाचार आउँदा मलाई नै हेरेर लेखेको जस्तो लाग्दथ्यो । संसदमा पनि अनपढ भएकै कारण अपहेलित भएको अनुभव गरेँ । उहाँले उत्साहित हँुदै भन्नुभयो – पढ्छु भनी रातदिन कस्सिएर लाग्दा यसै वर्ष मैले छोरीसँगै एसईई पास गरेँ । अहिले कानुन विषय लिएर पढ्छु । किनभने कानुन विषय लिएर पढ्दा धेरै कुराहरुको जानकारी पाइँदो रहेछ ।


पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका शाखा अधिकृत वसन्तराज पौडेलले महानगरको शैक्षिक विकासमा संघीय सरकारले पनि सघाउनु पर्ने र अपाङ्गता भएकाहरुलाई दिइने सहयोग पर्याप्त नभएको बताउनु भयो । ग्लोबल कलेजियट स्कुलका प्राचार्य बाबुराम पन्तले नेपालमा नै उच्चशिक्षा राम्रो रहेको भन्दै विदेशीने विद्यार्थीको संख्या घटाउनु पर्ने बताउनु भयो । पोखरा महानगरपालिका १ की वडाध्यक्ष शारदा पराजुलीले निजि तथा सामुदायिक विद्यालयहरुका बिचको खाडल पुर्नका लागि कानुन निर्माण भैरहेको बताउनु भयो । विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्राचार्य दिनेश कुमार लामिछानेले कक्षा ११ मा यसै वर्ष देखि कानुन विषय सञ्चालन गरिएको र विद्यालयले विभिन्न सामाजिक क्षेत्रहरुमा सक्रिय रहेको र आगामी वर्षहरुमा यस्तै कार्यहरुमा सक्रिय रहिरहने बताउनु भयो
कार्यक्रममा भानुभक्त विद्या पदक सुमित रानाभाट र विशेष बास्तोलालाई प्रदान गरियो । त्यस्तै विद्यालयमा १० वर्ष सेवा गरेका शिक्षक दिपक तामाङ, विद्यालयका उत्कृष्ट शिक्षक सफल गुरुङ र सहयोगी संस्था सहारा आमा समूहलाई सम्मान गरिएको थियो । यसैगरी विद्यार्थीहरुले निर्माण गरेका हस्तकला, चित्रकला, शैक्षिक सामग्रीहरु प्रर्दशन गरिएको थियो । यसैगरी विद्यार्थीहरुले नाटक मञ्चन र विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रराज श्रेष्ठको अध्यक्षतामा संञ्चालन भएको कार्यक्रममा विद्यालयका प्रशासक राजकुमार सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक दिव्यराज अधिकारी र कक्षा ११ की छात्रा रेजिना कटुवालले गरेका थिए ।
Facebook Comments