बेलायत तीन साताका लागि ‘लकडाउन’

9 / 100

लन्डन — बेलायत सोमबार मध्यरातदेखि तीन साताका लागि ‘लकडाउन’ भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न बेलायत सरकारले थप कडा नियम घोषणा गरेको हो ।सोमबार बेलुका टेलिभिजनबाट प्रसारित प्रत्यक्ष सम्बोधनमा प्रधानमन्त्री बोरिस जोनसनले बेलायती जनतालाई अत्यावश्यक खाद्यान्न किनमेल, दैनिक व्यायाम, औषधि उपचार र अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीबाहेक अरुलाई घरैमा बस्न निर्देशन दिएका छन् । ‘यी नियम पालना नगर्ने मानिसहरुलाई दण्ड जरिवाना गर्न र भीडभाड हटाउन प्रहरीलाई अधिकार दिइएको छ’, उनले भने ।

त्यसैगरी सबै पुस्तकालय, जिम, खेल मैदान, चर्च तथा धार्मिक भेला, विवाह समारोहहरुमा पनि रोक लगाइएको छ । यद्यपि अन्त्येष्टि समारोह भने आयोजना गर्न पाइनेछ । दुई जनाभन्दा बढी भेला हुन नपाइने प्रधानमन्त्रीको सम्बोधनमा छ । पार्कमा अभ्यासका लागि एक जनामात्र वा परिवारका साथ जान सकिन्छ ।


बैंक, फार्मेसी, पेट्रोल, खाना, पत्रिका, हार्डवेयर, लन्ड्रीजस्ता पसलबाहेक बन्द हुनेछन् । सडक र रेल नेटवर्क खुल्ला रहनेछन् तर अत्यावश्यक सेवाका कामदारले मात्र प्रयोग गर्न पाउने बताइएको छ ।


प्रधानमन्त्री जोन्सनले बेलायतको स्वास्थ्य सेवा (एनएचएस) कोभिड १९ बिरामीको चापका कारण तहसनहस हुन नदिन यो कदम चाल्नु परेको पनि बताएका छन् । यसअघि सरकारले जमघट, अनावश्यक यात्रा नगर्न र सकभर घरैबाट काम गर्न गरेको अनुरोध अवज्ञा भएपछि सरकार थप कठोर बनेको हो । फ्रान्स, इटाली र स्पेनले पनि कोभिड १९ फैलन नदिन लकडाउन गरेका छन् ।
बेलायतमा कोभिड १९ का कारण सोमबारसम्म ३ सय ३५ जनाको मृत्यु भइसकेको छ भने ६ हजार ६ सय ५० जनामा संक्रमण भएको छ । नेशनल हेल्थ सर्भिस (एनएचएस) ले अहिले जोखिममा रहेका समूहलाई टेक्स्टमार्फत १२ सातासम्म घरैमा बस्न अपिल सुरु गरेको छ ।

0Shares

Facebook Comments