बर्डफ्लु प्रभावित क्षेत्रमा रहेका कुखुराहरु नष्ट गर्न सुरु
मकवानपुर – हेटौंडा उपमहानगरपालिका–७ नागस्वतिमा रहेको बर्डफ्लु प्रभावित क्षेत्रमा रहेको कुखुराहरु नष्ट गर्ने काम सुरु भएको छ ।
शुक्रबार राति नै बर्डफ्लु लागेका कुखुरा नष्ट गर्ने भनिए पनि शनिबारमात्र कुखुरा नष्ट गर्न सुरु गरिएको हो । यस क्षेत्रका ४१ हजार कुखुरा शनिबार नै नष्ट गरिसक्ने मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।
बिहान ११ बजेबाट नागस्वति क्षेत्रका कुखुरा नष्ट गर्ने काम सुरु भएको हो । भेटनरी अस्पताल हेटौंडा, कुखुरा व्यावसायी संघ, जिल्ला प्रहरी कार्यालयसहित स्थानीय कुखुरापालक व्यावसायीहरुको सहभागितामा कुखुरा नष्ट गर्ने काम सुरु भएको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ नेतृत्वको बैठकले कुखुरा नष्ट गर्ने निर्णय गर्दै किसानलाई उचित क्षतिपूर्ति दिने निर्णय गरेको थियो । जसमा अण्डा पार्न तयार भएको कुखुरालाई ९ सय, बेच्न तयार ब्रोइलरलाई ४ सय तथा तथा अण्डालाई प्रतिगोटा ११ रुपैँया दिनको लागि सिफारिस गर्ने सहमति भएको थियो ।
टोलीले शनिबार नै सबै ४१ हजार कुखुरा नष्ट गर्ने तयारी समेत गरेको छ । तर किसानहरुले भने प्राविधिक टोलीले लगाएको चार किल्ला गलत भएको बताएका छन् ।
बैठकको निर्णय अनुसार हेटौंडा-७, नागस्वतिको कमर्सियल लेयर्स फर्मलाई केन्द्र मानी पूर्वतर्फ वडा नम्बर ६ र ७ को सीमाना, पश्चिममा वनदेवी मन्दिर जानेबाटोको पूर्वी सिमाना, उत्तरमा वनदेवी दुग्ध सहकारीको सीमाना बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सिमानाको परिधिभित्र रहेका करिब ४१ हजार कुखुरा नष्ट गरिनेछन् ।
Facebook Comments