फिफा ‘द बेस्ट’ अवार्ड :कसले के–के जिते ?

एजेन्सी – गएराती लन्डनमा आयोजित एक समारोहमा फिफाले उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्यो । फिफाले वर्षेनी विभिन्न विधामा उत्कृष्ट रहने गरेका खेलाडी, प्रशिक्षक तथा व्यक्तित्वलाई फिफा ‘द बेस्ट’ अवार्डबाट सम्मानित गर्ने गरेको छ । कसले के के उपाधि जिते त ?
मोड्रीचलाई फिफाको ‘द बेस्ट’ उपाधि


फिफा ‘द बेस्ट’ अवार्ड रियल म्याड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् । यसअघि फिफाले विभिन्न चरण गर्दै शीर्ष तीन खेलाडीको नाम सार्वजनिक गरेको थियो । शीर्ष तीन स्थानमा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो र लुका मोड्रीचसँगै लिभरपुलका मोहमद सलाह रहेका थिए । मोड्रीचले गत सिजन क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउँदा कप्तानको भूमिका निभाएका थिए भने च्याम्पियन्स लिग उपाधि जिताउने क्रममा महत्त्वपूर्ण भूमिका खेलेका थिए । मोड्रीच फिफा विश्वकपको गोल्डेन बल विजेता पनि रहेका थिए । मोड्रीचले अर्जेन्टिनाविरुद्ध विश्वकपमा स्तरीय गोल गर्दै आफूलाई मिडफिल्डबाट गोल गर्न सक्ने क्षमता पनि देखाएका थिए ।
रोनाल्डोले च्याम्पियन्स लिगको उपाधि जित्ने क्रममा त्यस प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका थिए । अन्तर्राष्ट्रिय प्रतियोगितामा भने रोनाल्डोले खासै राम्रो प्रदर्शन गर्न सकेन । रोनाल्डोले विश्वकपमा स्पेनविरुद्ध गोल गर्नुबाहेक खासै स्तरीय छाप बसाउन सकेनन् । सलाह भने लिभरपुलको उत्कृष्ट प्रदर्शनमा मुख्य हतियार बनेका थिए । उनले प्रिमियर लिगको गोल्डेन बुट जितेका थिए । उनले पनि राष्ट्रिय टोलीलाई विश्वकपसम्म पुर्याए तर विश्वकपमा भने चोटका कारण राम्रो प्रदर्शन गर्न सकेनन् ।

कस्तो थियो छनोट हुनुको आधार ?
क्रिस्टियानो रोनाल्डो (स्ट्राइकर)
देश :पोर्चुगल
क्लबः रियल म्याड्रिड र युभेन्ट्स
सफलता :च्याम्पियन्स लिग विजेता, च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता, फिफा क्लब विश्वकप विजेता
लुका मोड्रीच (मिडफिल्डर)
देश :क्रोएसिया
क्लब :रियल म्याड्रिड
सफलताः च्याम्पियन्स लिग विजेता, फिफा क्लब विश्वकप विजेता, विश्वकपको फाइनलमा कप्तान, विश्वकपको गोल्डेन बल विजेता

मोहमद सलाह (स्ट्राइकर)
देशः इजिप्ट
क्लब :लिभरपुल
च्याम्पियन्स लिग फाइनल खेलेको, च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्तामा दोस्रो स्थान, प्रिमियर लिगको सर्वाधिक गोलकर्ता

जिदान र डालीचलाई पछि पर्दै डेसच्याम्प्स बने उत्कृष्ट प्रशिक्षक
फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक डीडीएर डेसच्याम्प्सले उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका छन् । उनले फ्रान्सलाई रुसमा विश्वकप उपाधि दिलाएका थिए । उत्कृष्ट प्रशिक्षक घोषित हुने क्रममा डेस्च्याम्प्सले फ्रान्सका जिनेदिन जिदान र क्रोएसियाका ज्लाट्को डालीचलाई पछि पारे । जिदानले रियल म्याड्रिडमा रहँदा लगातर तेस्रो च्याम्पियन्स लिग जिताएका थिए । डालीचले भने क्रोएसियालाई विश्वकप फाइनलसम्म पुर्याउन अहम भूमिका खेलेका थिए । उपाधि विजेता डेसच्याम्प्सलाई फ्रान्सेली प्रशिक्षक आर्सेन वेंगरले विजयी ट्रफी प्रदान गरेका थिए ।
फ्रान्सलाई दोस्रो पटक विश्वकप विजेता बनाएका प्रशिक्षक डेसच्याम्प्सले सन् १९९८ पनि विश्वकप जितेका थिए । उनी त्यसबेला टोलीका कप्तानको भूमिकामा थिए । उनले सन् २०१६ को युरोपेली च्याम्पियनसिपको फाइनलमा पोर्चुगलविरुद्ध पराजय भोगेपनि विश्वकपमा भने अपराजित रहँदै उपाधि दिलाए ।

रियलका गोलरक्षक कोर्टूवा उत्कृष्ट गोलरक्षक
फिफाको ‘द बेस्ट’ अवार्ड समारोहमा रियल म्याड्रिडका गोलरक्षक थिअबाउट कोर्टूवाले उत्कृष्ट गोलरक्षकको उपाधि जितका छन् । उनले बेल्जियम राष्ट्रिय टोलीलाई विश्वकप सेमिफाइनलसम्म पुर्याएका थिए । यसै सिजन स्पेनिस टोली रियल म्याड्रिड पुगेका कोर्टूवाले चेल्सीबाट पछिल्लो सिजन राम्रो प्रदर्शन गरेका थिए । उनले उपाधि जित्ने क्रममा फ्रान्स तथा टोटेनहम हट्सपरका कप्तान ह्युगो लोरिस र लेस्टर सिटीका गोलरक्षक कास्पर स्माइकललाई पछाडी पारे ।लोरिसले फ्रान्सलाई विश्वकप उपाधि दिलाउँदा महत्त्वपूर्ण भूमिका खेलेका थिए । स्माइकलले पनि डेनमार्कका लागि विश्वकपमा राम्रो प्रदर्शन गरे । कोर्टूवाले एटलेटिको म्याड्रिड र चेल्सीबाट लिग उपाधि पनि जितिसकेका छन् । बेल्जियमको राष्ट्रिय टोलीमा नियमित सदस्य रहेका उनले यसअघि प्रिमियर लिगमा पनि उत्कृष्ट ११ मा स्थान बनाएका थिए ।

 

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *