प्रयोगशालाको दैनिक क्षमता ३ हजार, परीक्षण ३ सय मात्र

A laboratory technician prepares COVID-19 patient samples for semi-automatic testing at Northwell Health Labs, Wednesday, March 11, 2020, in Lake Success, N.Y. The US Food and Drug Administration has approved faster testing protocols as the viral outbreak continues to spread worldwide. For most people, the new coronavirus causes only mild or moderate symptoms. For some it can cause more severe illness. (AP Photo/John Minchillo)

4 / 100

नेपालमा कोरोनाभाइरसको पिसिआर परीक्षण गर्ने १६ वटा प्रयोगशाला छन्। यी प्रयोगशालाबाट दैनिक ३ हजार व्यक्तिको परीक्षण गर्न सकिन्छ।१६ वटा प्रयोगशालामध्ये टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मात्र दैनिक ८ सय नमूनाको परीक्षण गर्नसक्छ। प्रयोगशालाकी निर्देशक डाक्टर रूना झाका अनुसार जनशक्ति र श्रोत व्यवस्थापन गरेर परीक्षणलाई बढाएर १५ सय पुर्‍याउन सकिन्छ।

जनकपुरबाहेक १४ वटै प्रयोगशालाको पनि दैनिक सय वटा परीक्षण गर्नसक्ने क्षमता छ। तर अहिले देशभरबाट दैनिक ३ सय जनाको मात्र परीक्षण भइरहेको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चार दिनमा दैनिक ३ देखि ४ सय जनाको परीक्षण भएको छ। प्रयोगशालाहरूले नमूना संकलन नै कम भएकाले परीक्षण पनि कम भएको जनाएका छन्।

‘हामीले जति नमूना आयो त्यति नै परीक्षण गर्ने हो,’ प्रयोगशालाका एक स्वास्थ्यकर्मीले भने।परीक्षण कम हुनुको अर्को कारण किट अभाव हो। सबै प्रयोगशालामा पर्याप्त किट उपलब्ध छैन। ‘आरएनए एक्सट्रयाक्सन’ किट नहुँदा चितवन रहेको प्रयोगशाला तीन दिन देखि बन्द छ। ‘हामीले काठमाडौंमा भनेका छौं। त्यहाँ पनि छैन रे। अब बाहिरबाट आएपछि पठाउँछौं भनेका छन्,’ अस्पताल स्रोतले सेतोपाटीसँग भने। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिटिएम नहुँदा सोमबार चारजनाको नमूना लिन नसकिएको अस्पताल स्रोतले बताए।’स्वाब झिक्ने स्टिक नै छैन। आज पनि लिन पठाएका छौं। आयो भने हामी स्वाब लिन बाँकी व्यक्तिको नमूना लिन्छौं,’ उनले भने।

सरकारले अहिले स्वाब झिक्ने स्टिक अभाव भएको भन्दै प्रयोगशालाहरूलाई घाँटी वा नाक कुनै एउटाको मात्र स्वाब लिन दबाब दिइरहेको छ। प्रयोगशालाका एक स्वास्थ्यकर्मी भन्छन्, ‘सरकारले सबै कुरा किन्न सक्ने, भिटिएम र स्वाब स्टिक किन्न नसक्ने हुन्छ र।’बाहिर रहेका प्रयोगशालाले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई किट माग गरेपनि प्रयोगशालाले केन्द्रमै किट अभाव रहेको बताउँदै आएको छ। सरकारले पछिल्लो समय तिब्बत सरकारले दिएको किट नै प्रयोगशालाहरूलाई वितरण गरिरहेको छ। थप सामाग्री ल्याउनलाई सरकारले नेपाली सेनालाई जिम्मा दिएपनि उक्त सामग्री अहिलेसम्म आउन सकेको छैन।

किट अभावकै कारण जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको आरटी पिसिआर मेसिन झन्डै एक हप्तापछि मात्र सञ्चालनमा आयो। हिजोबाट सञ्चालनमा आएको प्रयोगशालामा २ सय वटा नमूनाको परीक्षण गर्ने किट छ। सरकारसँग थप किट माग गरिएको प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले बताए।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक देशभर रहेका सबै प्रयोगशालामा २ सय वटाको मात्र परीक्षण गर्न सकिने किट छ। त्यसलाई नै जुगाड गरेर प्रयोगशालाहरूले प्रयोग गर्दै आएका छन्।

विज्ञहरूले समेत सरकारले परीक्षणको दायरालाई व्यापक बनाउनुपर्ने जोड दिँदै आएका छन्। लकडाउन लम्ब्याउने तर परीक्षण सुस्त हुने हो भने लकडाउनको कुनै अर्थ नहुने उनीहरुको तर्क छ।

0Shares

Facebook Comments