पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीमा कोरोना संक्रमण छ ?


पोखरा । निर्माणाधीन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलले विमानस्थलका कुनै पनि कर्मचारीमा कोरोना संक्रमण नरहेको जनाएको छ ।
विभिन्न सामाजिक संजाल तथा संचारमाध्यममा विमानस्थलमा कार्यरत चिनियाँ
कर्मचारीमा कोरोना संक्रमण रहेको भन्ने हल्ला फैलिएपछि आयोजनाले मंगलबार एक
विज्ञप्ति जारी गर्दै आफ्ना कुनैपनि कर्मचारीमा कोरोना संक्रमण नरहेको
स्पस्ट पारेको हो ।
आयोजनाले फेब्रुअरी महिना पश्चात काममा फर्किएका १ सय ७ जना चिनियाँ
कर्मचारी तथा कामदारहरुलाई कुनै संक्रमण नरहेको स्पस्ट पारेको छ । चीनबाट
फर्किएका सम्पूर्ण कर्मचारी तथा कामदारहरु चीनमै १४ दिनको क्वारेन्टिनमा
बसेर कोरोना संक्रमण नरहेको प्रमाणपत्र लिएर नेपाल प्रवेश गरेको आयोजना
प्रमुख विनेस मुनानकर्मीले बताएका छन् ।
वेभबाट धेरै हेरिएको
आयोजना प्रमुख मुनानकर्मीले १ सय ७ जनाले नै हेल्थ सर्टिफिकेट लिएर नेपाल प्रवेश गरेको भएपनि यात्राको क्रममा हुन् सक्ने संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न र स्वास्थ्य जाँच गर्न आयोजनाले सबैलाई सेल्फ क्वारेन्टिनमा राखेर काममा फर्काइसकेको जनाए ।
मुनानकर्मीले आयोजना आफ्ना कर्मचारीको मात्र नभई यस क्षेत्रका सम्पूर्ण नागरिकको स्वास्थ्यप्रति सजक रहेको जनाउदै अनावश्यक हल्ला फैलाएर सर्वसाधारणमा त्रासको वातावरण सिर्जना नगर्न आग्रह समेत गरेका छन् ।
उनले कुरा गर्दै भने, ‘विश्वव्यापी महामारीको रुप धारणा गरेको कोरोनाबाट सचेत हुँदै हामीले पूर्ण सावधानी अपनाएका छौ, विमानस्थलका कर्मचारीमा कोरोनको कुनैपनि लक्षण नदेखिएकाले अनावश्यक हल्ला नगर्न सबैमा अनुरोध गर्दछौ।’
यसअघि गत बिहीबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै समाजवादी पार्टीका सांसद प्रदीप यादवले पोखरामा चिनियाँ कामदारहरु कोरोना भाइरसबाट संक्रमित भएको भन्ने गम्भीर सूचना आफूले पाएको बताउँदै सरकारसँग सत्य तथ्य बाहिर ल्याउन आग्रह गरेका छन् । सांसद यादवले बिना प्रमाण संसदमा कुरा उठाएको भन्दै उनको आलोचना समेत भएको थियो ।
यसैबीच विमानस्थलको हालसम्म करिब ५६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको पनि आयोजना प्रमुख विनेस मुनानकर्मीले पोखरा न्यूजलाई जानकारी दिए । उनले कोरोना प्रभावका कारण सामान आयात र केहि कर्मचारी आउनमा ढिलाई भइहालेपनि निर्धारित समय सीमाभित्रै आयोजना सम्पन्न गरिने बताए ।
उनले भने, – ‘हामीले आयोजना ६ महिना अगावै सक्ने कोसिसमा छौ, अहिलेको अवस्थाले प्रभाव पारेपनि निर्धारित समय सिमा भित्रै आयोजना सम्पन्न गर्छौ, थप समय माग गर्ने भन्ने कुरा हुदैन।‘ विमानस्थलको सिभिल तर्फको धेरैजसो काम सम्पन्न भैसकेको बताउदै उनले अव बनिबनाउ सामग्रीहरु जोड्ने काम रहेकाले त्यो काम निर्धारित मितिभित्रै सम्पन्न हुने दावी गरे ।
अर्थ मन्त्रालयसंग सहायक ऋण सम्झौता भइ २०२१ जुलाइ १० भित्र सकिने गरी २०१७ को जुलाई ११ अर्थात् २०७४ असार २७ गतेबाट विमानस्थलको निमार्ण कार्य शुरु भएको हो ।
Facebook Comments