कोरोनाविरुद्धको खोप पहिलो पटक मानिसमा परीक्षण गरिँदै

9 / 100

काठमाडौं ।  विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गर्न लागिएको छ ।

परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुने बीबीसीले जनाएको छ । अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको खोप परीक्षण सीयाटलको काइसर पर्मानन्ट वाशिङ्टन हेल्थ रिसर्च इन्स्टिट्यूटमा सोमबार हुन लागेको हो ।

पहिलो चरणमा कोरोनाभाइसविरुद्धको भ्याक्सिनको मात्राले प्रतिरक्षा प्रणालीले कुनै प्रतिक्रिया जनाए वा नजनाएको जाँच हुनेछ । एम.आर.एन.ए–१२७३ नामकरण गरिएको यो भ्याक्सिनलाई मोडेर्ना नाम गरेको निर्माताले बनाएको छ । खोपमा वास्तविक कोरोनाभाइरसको कुनै अंश नरहेको बताइएको छ ।

खोपले बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने वैज्ञानिकको योजना छ ।

विश्वभर कोरोना भाइरसको संक्रमण १ सय ५७ देशमा फैलिएको छ। चीनको वुहानबाट तीन महिना अघि फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ६ हजार नाघेको छ। हालसम्म ६ हजार पाँच सय १५ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। एकै दिनमा कोरोनाले ६ सय ८२ जनाले ज्यान गुमाएका छन् भने एक लाख ६९ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

0Shares

Facebook Comments