कोभिड-१९ संक्रमण दोस्रो चरणमा

6 / 100

काठमाडौँ — विदेशबाट आएका एक व्यक्तिबाट आफन्तलाई कोभिड–१९ को संक्रमण भएको पाइएको छ । यससँगै नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । संक्रमण दोस्रो चरणमा प्रवेश गर्नु भनेको स्थानीय व्यक्ति संक्रमित हुनु हो । दुबईबाट भारत हुँदै फर्किएका कैलालीका संक्रमित एक युवकबाट उनकी ३४ वर्षीया आफन्तमा संक्रमण सरेको शनिबार पुष्टि भएको हो ।

‘यो पुष्टिसँगै नेपाल कोभिड–१९ संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेले भने ।

नेपालमा यसअघि विदेशबाट आएकामा मात्र संक्रमण देखिएको थियो । पहिलोपटक पुष्टि भएको ७३ दिनपछि नेपाल कोभिड–१९ संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो चरण नियन्त्रणका लागि पहिलोभन्दा जटिल हुने विज्ञहरू बताउँछन् । रोकथाम र उपचारमा तेस्रो र चौथो चरण झन् जटिल हुने भएकाले लकडाउनको समय बढाउन उनीहरूले सुझाव दिएका छन् ।कोभिड–१९ प्रभावित राष्ट्रहरूबाट आएकाहरूमा संक्रमण देखिनुलाई पहिलो चरण भन्ने गरिन्छ । उनीहरूबाट संक्रमण नजिकको सम्पर्कमा रहेका वा आफन्तमा देखिन थाल्नुलाई दोस्रो चरण मानिन्छ । दोस्रो चरणमा केही व्यक्ति संक्रमित भएको अवस्थामा कन्ट्याक्ट ट्रेसिङ (सम्पर्कलाई पछ्याउनु) गर्न सजिलो हुन्छ । ‘यो स्थितिमा आइसोलेसन, सेल्फ क्वारेन्टाइन, उपचार प्रक्रियाले संक्रमण थप फैलिनबाट जोगाउन सकिन्छ,’ निर्देशक डा. पाण्डेले भने ।संक्रमणको दोस्रो चरण रोक्न नसके समुदायमा फैलन्छ जसलाई तेस्रो चरण भनिन्छ । तेस्रो चरणमा मुलुक गयो भने ठूलो जनसंख्या संक्रमित हुन सक्छ । चौथो चरण संक्रमणको सबैभन्दा नराम्रो अवस्था हो । यस अवस्थामा संक्रमणले महामारीको रूप धारण गर्छ जसलाई नियन्त्रण गर्न अत्यन्त गाह्रो हुन्छ । ‘हामीले जे, जसरी, जुन प्रकारले भए पनि संक्रमणको विस्तारलाई दोस्रो चरणबाट तेस्रोमा जान दिनु हुँदैन, नत्र हामी महामारीको भुमरीमा फस्छौं,’ डा.पाण्डेले भने । विदेशबाट आएका र उनीहरूको सम्पर्कमा रहेका सबै व्यक्तिको सम्पर्क पछ्याउँदै परीक्षण, क्वारेन्टाइन, उपचार गरेर यो चरणलाई नियन्त्रण गर्न सकिने उनले बताए ।

नेपालमा पहिलोपटक चीनको वुहानबाट फर्किएका ३२ वर्षीय नेपाली विद्यार्थीमा गत माघ ९ मा संक्रमण देखिएको थियो । शनिबार भने तीन जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कैलालीकी ती ३४ वर्षीया महिलाबाहेक भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय युवक र उत्तराखण्डबाट फर्किएका ४१ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । योसँगै नेपालमा संक्रमित भएकाको संख्या ९ पुगेको छ । डा. देवकोटाले संक्रमण दोस्रो चरणमा गइसकेको अवस्थामा क्वारेन्टाइन अनिवार्य रहेको बताए ।

संक्रमण देखिएका दुई जनाको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । धनगढी अस्पतालमा ३ जना र बाग्लुङस्थित अस्पतालमा दुई जना संक्रमितको उपचार भइरहेको छ । शनिबार स्थानीय रूपमा संक्रमित महिलासहित भारतबाट फर्किएर संक्रमण देखिएका ३ जना सेती प्रदेश अस्पताल धनगढीको आइसोलेसन कक्षमा छन् । आठै जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको डा. देवकोटाले बताए । सुरुका संक्रमित भने निको भइसकेका छन् ।

0Shares

Facebook Comments