इटहरीका मेयरलाई आत्मालोचना गर्न मुख्यमन्त्री शंकर पोखरेलको सुझाव


काठमाडौं, जेठ २२ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक चौधरीले दिएका अभिव्यक्तिको राजनीतिक बृत्तबाट पनि विरोध सुरु भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्तासमेत रहेका मेयर चौधरीको अभिव्यक्तिप्रति सो दलका नेता नै असन्तुष्ट देखिएका हुन् ।
मेयर चौधरीले पत्रकारको नाम नै तोकेर ‘नाक भाँच्न एक करोड रुपैयाँ छुट्याएको’ घोषणा गरेका थिए ।
प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले मेयर चौधरीका अभिव्यक्ति पार्टीको नीति, मूल्य मान्यतासँग मेल नखाने बताएका छन् ।
फेसबुकमा प्रतिक्रिया दिँदै उनले लेखेका छन्, ‘इहटरीका मेयर द्वारिक चौधरी हकी स्वभावको हुनुहुन्छ भन्ने कुरा त उहाँको अभिव्यक्तिबाटै थाहा हुन्छ तर पार्टीको मान्यताका बारेमा भने उहाँका बुझाइहरु पूर्णतः त्रुटिपूर्ण छन् ।’
नेकपा विधिको शासन र लोकतान्त्रिक मूल्यमान्यताप्रति दृढ रहेको मुख्यमन्त्री पोखरेलले स्मरण गराएका छन् ।
‘जवजबाट दीक्षित कार्यकर्ताले त लोकतान्त्रिक मूल्यमान्यता र विधिको शासनप्रति झनै प्रतिवद्ध रहनुपर्ने हुन्छ । द्वारिकजीको आक्रोस पितपत्रकारिता र भ्रष्टाचारविरुद्ध भए पनि अभिव्यक्ति भने अस्वभाविक र गलत छन् ।’
मुख्यमन्त्री पोखरेलले मेयर चौधरीलाई जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसाबले आफ्ना अभिव्यक्तिलाई सच्याउँदै आत्मालोचना गर्नु उचित हुने सुझाव दिएका छन् ।


Facebook Comments