आखिर विश्वमा व्यापक फैलिएको कोरोना नेपालमा किन फैलिएन त ?


नेपालमा कोरोना कम फैलिनुको पछाडि परीक्षणको कमी, नेपालीको रोग प्रतिरोधी क्षमता, बिसिजी खोपको प्रभाव जस्ता कारण हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।तर यदि परीक्षणको कमीले कोरोना संक्रमण नदेखिएर समाजमा लुकेरै कोरोना फैलिसकेको भए ३ प्रतिशत मृत्युदर भएको कोरोनाबाट उल्लेख्य संख्यामा मृत्यु भइसक्नु पर्ने यथार्थलाई पनि नकार्न सकिँदैन । जबकी नेपालमा सामान्य फ्लुबाटसमेत मानिसले ज्यान गुमाइरहेका हुन्छन् ।
नेपालमा संक्रमणको दर तुलनात्मक रुपमा निकै कम देखिएको छ । मृत्युदर शून्य छ, लगभग एक महिनाको समयमा पनि समुदायमा संक्रमणको एकाधबाहेक घटना बाहिर आएको छैन । साथै संक्रमित पनि निको भइरहेका छन् । पिसिआर नेगेटिभ र आरडिटी पोजिटिभका कैयौं केस भेटिएका छन् जसले संक्रमण देखिएर अस्पताल भर्ना भएका बाहेक पनि थुप्रै निको भइसकेको जनाउँछ जसले भाइरस कि कमजोर भएको कि हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो भएतर्फ नै इङ्गित गर्छ । साथै भाइरस विभिन्न वातावरणमा सक्रिय हुन आफुलाई म्युटेसनमार्फत परिवर्तन गरिरहन्छ । यसले गर्दा कतै भाइरस अझै खतरनाक बनेर निस्कन्छ त कतै कमजोर । नेपालको हकमा भाइरस कमजोर भएको हुनसक्ने पनि विज्ञहरुको राय छ ।
त्यसैले अब भारतलगायत विदेशबाट आउने नेपाली वा विदेशीलाई नेपाल प्रवेशमा कडाई वा निषेध नै गरेर हामी लकडाउन खोल्न सक्छौँ । नेपाल आउन चाहनेलाई पनि कडा निगरानीका साथ क्वारेन्टिनमा राखेर कोरोना संक्रमण नभएको पुष्टि भए पछि समाजमा स्थापित गराउन सक्छौँ । अब केही समय लकडाउनलाई निरन्तरता दिए पनि विदेशबाट आवतजावत कडाई गरेको खण्डमा संवेदनशील केही ठाउँलाई सील वा कडा निगरानी गरेर, अति जोखिम समुहका मानिसलाई पहिचान तथा उनीहरुको सुरक्षाको प्रतिबन्ध गरेर लकडाउनको विकल्प अपनाउन सकिने देखिन्छ ।
Facebook Comments