Latest News and Updates

पहिरोले घर बगाउँदा दुईको मृत्यु, दुईजना बेपत्ता  :

चरिकोट, असार १४ । दोलखा भीमेश्वर नगरपालिका–९ लाकुरीडाँडास्थित कुतकुते भन्ने स्थानमा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षीया शान्ति थामी र ७० वर्षीया लाटी थामी रहेका छन् । नजिकैको क्याङथली खोलाबाट दुबैजनाको शव निकालिएको छ ।

पहिरोमा पुरिएर अन्य दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मृतक शान्ति थामीका छोरी १५ वर्षीया रोशनी थामी र १२ वर्षीय रितु थामी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब निरीक्षक रामेश्वर कार्कीले बताए ।

स्थानीयको सहयोगमा नेपाल प्रहरी र दोलखास्थित नेपाली सेनाको रणभीम गणले बेपत्ता दुबैजनाको खोजीकार्य गरिरहेको जिप्रका दोलखाले जनाएको छ ।

घरमा सँगै सुतिरहेका शान्ति थामीका श्रीमान् मङ्गले थामीको पेट दुखेर राति करिब साढे १ बजेतिर घरनजिकै रहेको चर्पीमा जाँदा उनी पहिरोबाट बाच्न सफल भएको बताइएको छ ।

उनले रुँदै भने–‘चर्पीबाट फर्कंदा घरसहित परिवार नै पहिरोले बगाइसकेको रहेछ ।’

दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरासहितको टोलीले घटनास्थलको स्थलगत अनुगमन र निरीक्षण गरी मृतकका परिवारलाई राहतसमेत उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट घटनास्थलमा पुगेका चिकित्सकसहितको टोलीले शव परीक्षण गरी बुधबारै परिवारका आफन्त र छिमेकीको जिम्मा लगाइ दाहसंस्कार गर्न भनिएको प्रहरी नायब निरीक्षक कार्कीले बताए ।

कुतकुतेलगायत गोगने, आहालडाँडा, डाडाँगाउँ र लामाकोलका ९५ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।

पहिरोको उच्च जोखिमबारे सरकारी संयन्त्रलाई थाहा हुँदा–हुँदै पनि सुरक्षित बस्तीका लागि पहल नगरिएको गुनासो स्थानीयको छ ।


time Published on:  2017-06-28    | Read More




काठमाडौं भेटियो ‘खतरनाक रुघाखोकी’, स्वाइनफ्लुको नाममा आतंक :

१४ असार । बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनिया लगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको खबर सार्वजनीक भएको छ। कुलेश्वरकी एक महिलालाई उक्त समस्या पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी चिकित्सकले उपचार सुरु गरेका छन्। उनीहरूले अरूलाई पनि सचेत हुनसमेत आग्रह गरेका छन्। 

 

 

ती महिलाको खकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उक्त भाइरस देखिएको उपचारमा संलग्न अस्पतालका कन्सल्टेन्ट ट्रपिकल मेडिसिन फिजिसियन डा. अनुप बास्तोलाले जानकारी दिए। ‘रुघाखोकी लागेको, घाँटी दुखेको र हल्का ज्वरो आइरहेका बेला उहाँ अस्पताल आउनुभएको थियो। लक्षणहरू शंकास्पद भएकाले खकार परीक्षण गर्दा एचवानएनवान फ्लुको संक्रमण देखिएको हो,’ डा. बास्तोलाले भने, ‘उहाँलाई निगरानीमा राखेर उपचार सुरु गरेका छौं र अन्य मानिस पनि यसबाट सचेत हुनुपर्छ तर आत्तिनुपर्दैन भनेका छौं।’

डा. बास्तोलाले यो रुघाखोकी अन्य रुघाखोकी जस्तै सामान्य भए पनि बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र दीर्घरोगीका लागि भने जोखिमपूर्ण भएकाले सचेतना फैलाउन आवश्यक रहेको बताए। विशेषगरी प्रभावित व्यक्तिको सम्पर्कमा आउँदा हावाको माध्यमबाट सर्ने यो रुघाखोकीले फोक्सोको ‘टिस्यु’ मा असर गरी अपर्झट श्वासप्रश्वासमा बाधा पुर्‍याउन सक्छ। यसलाई चिकित्सकहरू ‘एक्युट रेस्सपिराटरी डिस्ट्रेस सिन्ड्रोम’ भन्ने गर्छन्।

स्वाइनफ्लुको नाममा आतंक

यो रुघाखोकी सन् २००९ मा मेक्सिकोको वेराक्रुज इलाकाको सुँगुर फार्ममा सबैभन्दा पहिले फैलिएको थियो। त्यसैले उक्त रुघाखोकीलाई ‘स्वाइन फ्लु’ को नाम दिइएको थियो। विश्वका अधिकांश मुलुकमा फैलिएपछि यसलाई विश्व स्वास्थ्य संगठनले ‘पेन्डेमिक एन वन नाइन’ भनेको छ।

पछि सुँगुरको सम्पर्कमा नआएका मानिसमा पनि उक्त रुघाखोकीको भाइरस देखियो। विश्व स्वास्थ्य संगठनले यो रुघाखोकीलाई सामान्य रूपमा लिइएकाले ‘स्वाइनफ्लु’ को भ्रम नछर्न आग्रह गरेको छ।

नेपालमा पनि यो समस्यालाई ‘स्वाइनफ्लु’को नाममा बेलाबेलामा सर्वसाधारणलाई आतंकित बनाउने काम भएको छ। दुई वर्षअघि जाजरकोटमा यस्तो समस्या देखिँदा ‘स्वाइनफ्लु’ भन्दै प्रचार गरिएपछि सर्वसाधारण त्रसित बनेका थिए। यो रोग फैलाउन मुख्यतः चार प्रकारका भाइरसमध्ये ‘एचवानएनवान’ सबैभन्दा खतरनाक मानिने चिकित्सक बताउँछन्।

 


time Published on:  2017-06-28    | Read More




मतदान गर्न गएका दुई वृद्धको मृत्यु :

असार १४ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत बुधबार भइरहेको निर्वाचनमा मतदानका लागि मतकेन्द्रमा पुगेका दुई वृद्धको मृत्यु भएको छ ।

पाल्पामा मतदानका लागि लाईनमा रहेका ८४ वर्षीय पूर्णचन्द्र भट्टराईको मृत्यु भएको छ भने झापामा त्यस्तै घटनाका ८२ वर्षीय नरेन्द्रबहादुर भण्डारीको मृत्यु भएको हो ।

पाल्पाको अरननिको आधारभुत विद्यालय यम्घास्थित मतदान केन्द्रमा मतदानका लागि लाईनमा उभिएका भट्टराई एक्कासी ढलेका थिए । उनको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

झापाको दमक–९ स्थित सरस्वती मावि मतदान केन्द्रमा मतदान गर्न गएका ८२ वर्षीय भण्डारीको हृदयघातबाट मृत्यु भएको छ । मतदान केन्द्रमा खटिएका कर्मचारीबाट मतपत्र लिएर मतपेटिकातर्फ गएका उनलाई अकस्मात हृदयघात भएको थियो । उनको तत्कालै मृत्यु भएको बताइएको छ ।


time Published on:  2017-06-28    | Read More




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np