स्याङजामा हुने प्याराग्लाइडिङ वल्र्ड कपको तयारी पूरा, २१ राष्ट्र सहभागि हुदै

बिहिबार देखि स्याङजामा हुने प्रथम नेपाल प्याराग्लाइडिङ एकुरेसी (स्पोट ल्याण्डिङ) वल्र्ड कप २०१८ को तयारी पूरा भएको छ । स्याङ्गजाको स्वरेक मैदान (भिरकोट) र डौंवाफाँटमा यही कार्तिक १५ गते बिहिबार देखि संचालन हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पूरा भएको प्रतियोगिता मुल आयोजक समितिले मंगलबार स्याङजामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

यही कार्तिक १८ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको स्थानिय देखि प्राविधिक हिसावले आवश्यक तयारी पुरा भएको मुल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समिति स्याङजाका प्रमुख सिता कुमारी सुन्दासले बताइन। पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ वटा स्वर्ण पदकका लागि प्रतिष्प्रर्धा हुने भएको उनले बताइन। अझै केहि राष्ट्रका प्याराग्लाइडिङ पाइलटहरुले आफ्नो नाम दर्ता गराउदै गरेको समेत उनले बताइन।

स्याङजाका स्थानिय निकाय सँगै स्थानीय विभिन्न संघ सस्थाहरु स्याङजामा हुने प्याराग्लाइडिङ वल्र्ड कपको लागि  उत्साहित भएको  महोत्सव सचिवालयका प्रमुख अनन्त कुमार श्रेष्ठले बताए । उनका अनुसार हालसम्म मित्र राष्ट्र भारत, चिन लगायत  एसियन सहित अमेरीका सम्मका गरी २१ देशका ९८ जना प्याराग्लाइडिङ पाइलटहरुले सहभागिताको लागि आफ्नो नाम दर्ता गराएका छन। बिहिबार प्रतियोगितको उद्घाटन सहित अभ्यास खेल हुने भएतापनि शुक्रबार देखि मात्र प्रतियोगिहरुको अंक जोडिन्छ । सहभागिले एकै दिनम दुई राउण्ड अर्थात दुई वटा फ्लाइट गर्नुपर्ने हुन्छ ।

नेपाल पाराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघ (नेफा), नेपाल हवाई खेलकुद संस्था (ना), बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक प्याराग्लाइडिङ वल्र्ड कप हुने भएको हो । जिल्ला समन्वय समिति स्याङजाको अगुवाइमा भिरकोट नगरपालिका सहितका स्थानिय निकाय एवं विभिन्न संघ संस्थाको सहयोगमा उक्त प्रतियोगिता हुने भए पछि स्थानियहरु निकै उत्साहित भएको सचिवालयका प्रमुख श्रेष्ठले बताए । प्रतियोगिताको लागि सुरक्षादेखि रेस्क्यू टिम हुदै एम्बुलेन्स, हेलिकोप्टर समेतको राम्रो प्रवन्ध गरिएको उनले बताए ।

प्रतियोगितामा एक सय ५० जना सम्मका खेलाडीहरु सहभागि गराउन सकिने भएको प्रतियोगिताका संयोजक शैलेन्द्र राउतले बताए । उक्त प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न एफ.ए.आई. का प्रतिनिधिहरुको ३ सदस्य टोली समेत स्याङजा आउने भएको संघका महासचिव समेत रहेका संयोजक राउतले बताए । एफ.ए.आई. का प्रतिनिधिको रुपमा इण्डोनेसियाका उगा र मुनिर त्यसैगरी मलेसियाका नादिया स्याङजा आउन लागेका हुन। बिहिबार पोखराबाट ¥याली सहितको प्याराग्लाइडिङ टोली स्याङजा बोर्डर हुदै प्रतियोगिता स्थल जाने भएको छ । स्याङजाका विभिन्न टोल टोलमा टोलीलाई स्वागत सत्कार गर्न विभिन्न संघ संस्थाले तयारी समेत गरेका छन।

पोखरामा यस अघि १७ औं संस्करणसम्म खुल्ला नेपाल प्याराग्लाईडिङ र पोखरा तथा स्याङजाको स्वरेकमा प्रि–वल्र्ड कप भएकोले गर्दा यस बर्ष प्याराग्लाइडिङको वल्र्ड कप हुन लागेको नाका अध्यक्ष योगेस भट्टराइले बताए ।

टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुष तर्फ ५ र महिला तर्फ ३ खेलाडीहरुको समूह हुने छ । प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ पटक समम ल्याण्डिङ गर्नुपर्नेछ।

प्रतियोगिताका बिजयी टिम तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १ हजार ५ सय, १ हजार २ सय र ७ सय युरो प्राप्त गर्नेछन् भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्नेछन् । प्रतियोगिताको बजेट करिब १ करोड ६० लाख रुपैयाको हुने संयोजक शैलेन्द्रले बताए ।

विश्वमै प्याराग्लाइडिङको उत्कृष्ट पाँच मध्यमा पर्ने पोखरामा यस अघि प्याराग्लाइडिङको प्रि वल्र्ड कप (एफएआई क्याटागोरी टु) समेत सम्पन्न भई वल्र्ड कपको तयारी हुदै गर्दा पोखरा महानगरपालिका र व्यवसायीहरुको बिच करको बिषयमा बिबाद टुंगाउन नसक्दा अन्ततः उक्त प्रतियोगिता पोखरा देखि करिब ७० किलोमिटर टाडाको दुरी स्याङजामा हुने भएको हो ।

हालसालै १८ औं एशियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको क्रस कन्ट्री तर्फको विधामा  रजत पदक हात पार्न सफल भएको थियो ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *