सोलुबाट काठमाडौं हुँदै कैलाली हिँडेकाहरूको कथा

सोमबार साँझ साढे सात बजे।

काँध र टाउकोमा बोराका भारी बोकेका एक हुल मान्छे कोटेश्वरको बाटो हिँड्दै थिए।एक जना युवक सुस्केरा हाल्दै औषधि पसलअगाडि थुचुक्क बसे, ‘अझै कति हिँड्नुपर्ने हो? आज यतै कतै बसम् न, साह्रै भोक लाग्यो।’उनले कडकडी दुखिरहेका आफ्ना गोडा छामे। आफ्नै हातले छुँदा पनि चिरिक्क दुखाइ आधा मरेझैं भयो।मुन्टो बटारेर औषधि पसलतिर हेरे। यस्तो बेला त लम्पसार परेर दुखाइ मार्ने स्प्रे फिरफिर छर्न पाए पो! भर्खर १९ वर्ष लागेका आदित्य खत्रीको मनमा यस्तै तर्कना आएको हुँदो हो!

आदित्यको कुरा सुनेर अरू पनि एक-एक गर्दै पेटीमै खुइय्य गर्न थाले। काँध र टाउकोका भारी बिसाए।उनीहरू १५ जना थिए। एकैठाउँ डल्लो परेर केहीबेर छलफल गरे- अब कहाँ जाने?केही छिनमा गन्तव्य निधो भयो- आजको रात पशुपतिको आँगनमा बिताउँ।टोलीमध्ये एक वयस्क जुरुक्क उठे। बोरा काँधमा हाले र सुमसुम अघि बढे। अरू सबै कमिलाको ताँतीजस्तै सिनामंगल, त्रिभुवन विमानस्थल हुँदै पशुपतितिर लम्के।

काठमाडौंको चकमन्न चिर्दै हिँडेका उनीहरूको पछि-पछि लागेँ म पनि। मनमा प्रश्न थियो- देशै लकडाउन भएका बेला यी १५ जना कहाँबाट कहाँ पुग्न हिँडेका होलान्? टोलीलाई पशुपतिको बाटो डोर्‍याउने नेता रहेछन्, ३६ वर्षीय आशाराम चौधरी।उनै आशारामले टोलीको यात्राकथा सुनाए, ‘हामी चैत २० देखि हिँडिरहेका छौं।’उनीहरू सोलुखुम्बु लिखुपिके गाउँपालिकाबाट आएका रहेछन्। सबै जना त्यहाँको मार्भुदोभान हाइड्रोपावर कम्पनीमा काम गर्थे। लकडाउनसँगै काम रोकियो। कोरोना भाइरसको त्रास र बन्दले टिक्न मुश्किल भयो। 

0Shares

Facebook Comments

You may have missed