सबैले आफ्नो भूमिका प्रभावकारी बनाए सहिदलाई सम्मानः राष्ट्रपति भण्डारी


पोखरा, १६ माघ
राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवसले सबैलाई सहिदको सपना साकार पार्नका लागि मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला दिन सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।
सहिद दिवसका अवसरमा आज सन्देश दिँदै उनले विगतमा सहिदले गरेको योगदानको फलस्वरूप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको बलियो जग बसेको जनाउँदै नेपालको संविधानबमोजिम पहिलो पटक स्थानीय तह, प्रदेश र संघको निर्वाचन भई प्राप्त ऐतिहासिक उलपब्धिलाई सुदृढ पार्ने प्रक्रियामा जननिर्वा्चित संस्था र सरकार कटिबद्ध रहेको बताएकी छन् ।
“प्राप्त उपलब्धिको सदुपयोग गरी सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र सांस्कृतिक रूपले समृद्ध समाज निर्माण गर्न सकेमा सहिदप्रति सच्चा सम्मान हुने विश्वास मैले लिएको छु”, सन्देशमा भनिएको छ ।
सहिदको बलिदानबाट प्राप्त उपलब्धिलाई सुदृढ पार्न सम्बद्ध सबैले आआफ्नातर्फबाट खेल्नुपर्ने भूमिका थप प्रभावकारी तुल्याउन सके सहिदप्रति वास्तविक सम्मान हुने राष्ट्रपतिले विश्वास व्यक्त गरेकी छन् ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र, लोकतन्त्र र सघीय लोकतान्त्रिक गणतन्त्र लगायत उपलब्धि प्राप्तिको मुख्य श्रेय सहिदलाई जाने जनाएका छन् ।
उनले आज शुभकामना सन्देश दिँदै नेपाली जनताले राजनीतिक अधिकार धेरै हदसम्म प्राप्त गरिसकेको तथा देश विकास र समृद्धिको मार्गमा अघि बढिरहेका सन्दर्भमा सहिदको सपना साकार पार्न सबै पक्ष एक भएर लाग्नुको विकल्प नभएको जनाएका छन् ।
Facebook Comments