संगीतकर्मी श्रीमान् थुलुङको दुर्घटनामा मृत्यु


चैत २८, २०७५
पोखरा– पोखरेली संगीतकर्मी श्रीमान् थुलुङ राईको दुर्घटनामा मृत्यु भएको छ । बुधवार राति आफ्नै निवास पोखरा १२ शितलादेवीमा स्कुटर दुर्घटनामा परी निधन भएको कास्की प्रहरीले जानकारी दिएको छ ।
राति करित साढे नौ बजेतिर थुलुङ सवार ग१२प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठक्कर खाँदा दुर्घटना भएको हो । थुलुङ आफ्नी श्रीमती सहित स्कुटरमा थिए । प्रहरीका अनुसार निवासको बाहिर गेटनजिकै स्कुटर पर्खाल मा ठोक्कीएपछि राईको नजिकैको नहरको कुलोमा खसेका थिए ।


संगीतकर्मी श्रीमान् थुलुङ राई
पोखराको कुंडहरफाँटमा सिंचाइको लागि ठूलोपानि खोलीने नहरमा खसेका राईलाई साढे १० बजे दुई कुलाको मुहानमा प्रहरीले भेटेको थियो । तत्कालै वडाप्रहरी कार्यलयबाट खटिएको प्रहरीले राईलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएको थियो ।
अस्पतालले उनलाई तत्कालै मृत घोषणा गरेको थियो । पूर्वबाट दुई दशक अघि पोखरा आएका ५० वर्षीय राईले पोखरामा तराना म्युजिक सेन्टर सञ्चालन गरी दर्जनौ संगीतसाधक जन्माइसकेका छन् । तराना संगीत साँझ लगायतका सांगीतिक गतिविधि मार्फत उनले संगीतको क्षेत्रमा बिषेश योगदान दिँदै आएका थिए । अन्तिम क्षणसम्म पनि उनी सांगीतिक गतिविधिमा सक्रिय थिए ।
Facebook Comments