भारतद्वारा नेपालका नाकामा कडाइ, चार नाकामात्रै खुला

5 / 100

नयाँदिल्ली — भारतले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि मानिसहरुको आवतजावतका लागि केही नेपालसँगका केही प्रमुख नाकाहरुबाहेक अन्य नाकाहरु बन्द गर्ने निर्णय गरेको छ । बुधबार भारतको गृह मन्त्रालयले दुई देशका नागरिकहरुको ओहोरदोहर गर्नका लागि वीरगन्ज (रक्सौल), भैरहवा (सुनौली), महेन्द्रनगर (बनबासा) र काकडभिट्टा (रानीगन्ज) मात्र खुला राख्ने निर्णय गरेको हो । यसबाहेकका नाकाहरुबाट मानिसहरुको आवतजावतलाई तत्कालका लागि बन्द गरिएको छ । तर, कार्गो (सामान) को ढुवानी भने यसअघिकै व्यवस्था अनुसार सबै नाकाबाट सुचारु रहनेछ ।

भारत सरकारको पछिल्लो निर्णयमा खुला राखिएका नाकाहरुमा पनि मानिसहरुको बृहत् स्वास्थ्य परीक्षण भने हुने जनाइएको छ। यदि कुनै व्यक्तिले पछिल्लो समयमा इटाली, इरान, स्पेन, जर्मनी र दक्षिण कोरियाको गएको पाइएमा राज्य तथा केन्द्र सरकारले तोकेको स्वास्थ्य सुविधाभित्र क्वारान्टाइनमा बस्नुपर्ने निर्णय पनि भारतको गृह मन्त्रालयले गरेको छ। चारवटा नाकाहरुबाट मानिसहरुको आवातजावत खुला राख्ने भारतको पछिल्लो निर्णयले रोजगारीलगायतका विभिन्न प्रयोजनका लागि भारत आउने नेपालीहरु प्रत्यक्ष रुपमा प्रभावित हुनेछन्। विशेषगरी तराईका ग्रामीण भेगमा रहेका साना नाकाहरु प्रयोग गर्दै आएकालाई बढी असर पार्नेछ। नेपाल–भारतबीचको १७५१ किलोमिटर खुला सिमामा औपचारिक रुपमा करिब दुई दर्जन नाका सञ्चालनमा छन्। जसमध्ये आधा दर्जन प्रमुख नाका पर्छन्।
भारतको निर्णयले विराटनगर र नेपालगन्ज नाकाबाट आवातजावत गर्नेहरुलाई भने समस्या पर्ने भएको छ। किनभने यी दुई नाका पनि नेपाल र भारतबीच सञ्चालनमा रहेका नाकाहरुमध्ये प्रमुख मानिन्छन्। विशेषगरी भारतका विभिन्न ठाउँमा काम गर्न र अन्य प्रयोजनका लागि ओहोरदोहोर गर्न आउने मध्यपश्चिम भेगका नेपालीहरुले नेपालगन्ज नाका प्रयोग गर्ने गर्छन्। त्यसैगरी विराटनगर नाका पनि चल्तीको नाकामा पर्छ। तर, भारतले यी दुई नाकाबाट मानिसहरुको ओहोरदोहर तत्कालका लागि बन्द गरेको छ। तर, दिल्लीस्थित दुतावासका एक अधिकारीले नेपालगन्ज र विराटनगर नाकाबाट पनि सर्वसाधारणका लागि खुला गराउन पहल भइरहेको बताए। ‘यी दुई नाका बन्द गर्दा सर्वसाधारणलाई पर्ने असरका बारेमा हामीले भारतीय पक्षलाई जानकारी गराइसकेका छौं र खुलाउनका लागि आवश्यक पहल पनि सुरु भइसकेको छ’ ती अधिकारीले भने। साथै उनले कार्गोको ढुवानीका लागि पहिलेकै हिसाबले सबै नाकाहरु खुला रहेको हुँदा आपूर्ति व्यवस्थामा कुनै असर नपर्ने समेत बताए।

त्यसो त अघिल्लो साता नेपाल सरकारले पनि कोरोनाको संक्रमणको जोखिम न्यूनीकरणका लागि भारतसँगको नाकाहरु बन्द गर्ने निर्णय समेत गर्न सकिने जनाएको थियो। यता गत बुधबार भारतको स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा नेपालसँग जोडिएका नाकाहरुमा कडाई गर्ने संकेत गरेको थियो। ‘सडकमार्ग हुँदै आउने विदेशीहरुको आवागमनलाई पर्याप्त स्वास्थ्य परीक्षण सुविधा भएका तोकिएका अध्यागमन चेकजाँच चौकीसहितका नाकाहरु सिमित गरिनेछ,’ उक्त सूचनामा भनिएको थियो। सूचनामा भनिए जस्तो पर्याप्त स्वास्थ्य परीक्षण सुविधा केही ठूला नाकाहरुमा मात्र उपलब्ध भएको हुँदा भारतले अन्य साना नाकाहरु बन्द गर्ने सम्भावना रहेको दिल्ली दूतावासका नेपाली अधिकारीहरु पनि बताएका थिए। भारतले कोरोना महामारी नियन्त्रणका लागि सावधानी स्वरुप नेपालका अतिरिक्त भुटानको सीमा पनि मानिसहरुको आवागमनमा पनि कडाई गरेको छ। नेपालसँग जस्तै भुटानसँग पनि भारतको खुला सीमा रहेकोमा आइतबारदेखि दरङगा र जयगाउँ नाकामात्र खुला राख्ने निणय गरिएको छ। भारतले म्यानमारसँगको सीमा गत मंगलबारदेखि नै बन्द गरिसकेको छ। भारतले गत बुधबार नै विदेशी नागरिकलाई भारत प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो। गत बुधबार बसेको उच्च अधिकारीहरुको बैठकले शुक्रबार १२ बजेदेखि लागू हुने गरी विदेशीहरुको प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। तर, त्यतिबेला भारतले तेस्रो मुलुकका नागरिकहरुलाई हवाईमार्ग हुँदै आउन रोक लगाए पनि नेपालीहरुका लागि भने रोक लगाइएको थिएन। तर, हवाईमार्ग हुँदै भारत आउने नेपालीहरुमा स्वास्थ्य परीक्षणका क्रममा कोरोनाको भाइरसको संक्रमणको शंका भएकोमा १४ दिनको क्वाराइन्टाइनमा भने अनिवार्यमा रुपमा बस्नैपर्ने हुन्छ।

0Shares

Facebook Comments