बंगबन्धु गोल्डकप नेपालसामु उपाधि रक्षाको चुनौती

केही दिनअघि बंगलादेशी फुटबलमै मात्र होइन, राजनीतिमै एउटा ठूलो मुद्दा बनेको थियो, यसपटकको बंगबन्धु गोल्डकपमा नेपाल सहभागी हुन्छ कि हुँदैन ? त्यतिबेला नेपालको सहभागिता बंगलादेशका लागि प्रतिष्ठाको विषय थियो, किनभने नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । यस अर्थमा पनि नेपालले बंगबन्धु गोल्डकपमा सहभागिता नजनाउनु बंगलादेशका लागि राम्रो हुने थिएन् । फेरि प्रतियोगिता आफैमा बंगलादेशका संस्थापकको नामसँग जोडिएको छ ।

विशेषत: बंगलादेशमा साफ च्याम्पियनसिप चलिरहेका बेला यो मुद्दाले बंगलादेशी मिडियामा राम्रै स्थान पायो । बंगलादेशी फुटबल संघले भनिरहेको थियो, नेपालले भाग लिने छ, यसमा कुनै शंका नगरे हुन्छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को भनाइ थियो— जबसम्म दुई वर्षअघि जितेको पुरस्कारबापतको पूरा ५० हजार डलर प्राप्त हुँदैन, हामी खेल्ने छैनौं । बंगलादेशले त्यो पुरस्कारको पूरा राशि नेपाललाई दिएको थिएन ।

सुरुमा २५ हजार डलर प्रदान गरे पनि बाँकी रकम दिन बंगलादेशी फुटबल संघले आनाकानी गरिरहेको थियो । अझ बंगलादेशी फुटबल संघका अध्यक्ष काजी सलाउद्दिनले त नेपाललाई सबै रकम दिइसकेको दाबीसमेत गरिरहेका थिए । पछिल्लो समय सलाउद्दिनका विरोधीहरू बलिया भएको स्थितिमा नेपालको सहभागिता बंगलादेशमा साँच्चै ठूलो मुद्दा बनेको थियो र त्यसले ठूलै राजनैतिक रंग लिइरहेको थियो । आखिर नेपालले पुरस्कार राशिको बाँकी २५ हजार डलर यसै साता प्राप्त गर्‍यो । त्यसपछि मात्र निश्चित भयो, बंगबन्धु गोल्डकपमा नेपालको सहभागिता ।

यसका लागि एन्फा तथा बंगलादेशी फुटबल संघबीच ढाकामा विशेष बैठक समेत बसेको थियो । टिमको सहभागिता निश्चित भएपछि अब भने यो नेपालका लागि प्रतिष्ठाको विषय बनेको छ र नेपालसामु उपाधि रक्षाको चुनौती छ । खेल्ने–नखेल्ने टुंगो नलाग्दा नेपालले राम्रो तयारी समेत गर्न पाएको थिएन । अहिले प्रतियोगितामा नेपालको सहभागिता निश्चित भएपछि मात्र प्रशिक्षण सुरु भएको छ । यस्तोमा नेपालको यसपटकको बंगालदेश यात्रा धेरै हदसम्म कठिन र चुनौतीपूर्ण हुने देखिन्छ ।

कडा मेहनत गर्नु पर्ने

यसपटक पनि नेपाली टिमका प्रशिक्षक रहनेछन्— बालगोपाल महर्जन । उनकै नेतृत्वमा नेपालले बंगलादेशमै सम्पन्न साफ च्याम्पियनसिप–२०१८ खेलेको थियो । यो उनको प्रशिक्षकका रूपमा दोस्रो प्रतियोगिता हो । यसअघि उनकै प्रशिक्षणमा नेपालले बंगबन्धु गोल्डकप–२०१८ खेलेको थियो र अप्रत्यासित ढंगले उपाधिसमेत जितेको थियो । यसपटक फेरि एकपटक टिमको जिम्मा उनकै काँधमा छ र उनी टिमले राम्रो गरोस् भन्ने अभियानमा छन् ।

साप्ताहिकसँगको कुराकानीमा प्रशिक्षक महर्जनले भनेका छन्– प्रतियोगिता खेल्ने–नखेल्ने टुंगो नलाग्दा हामीले राम्रो प्रशिक्षण गर्न पाएनौं, भर्खरै मात्र प्रशिक्षण सुरु भएको छ । हामी प्रतियोगितामा अधिकतम परिणाम आफ्नो पक्षमा पार्ने प्रयासमा हुनेछौं । यसपटक हामीले प्रतिस्पर्धा गर्नुपर्ने सबै टिम राम्रा छन्, त्यसैले हामीले कडा मेहनत गर्नुपर्ने छ । हाम्रो समूहमा रहेका प्यालेस्टाइन र लाओस दुवै बलिया टिम हुन् । हाम्रो उद्देश्य उपाधि रक्षा गर्ने नै हो, त्यसका लागि हाम्रो पहिलो लक्ष्य सेमिफाइनल पुग्नु हुनेछ ।

कठिन समूह

यसपटक नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ र यो समूहमा रहेका अरू टिम बलिया छन् । यसपटकको प्रतियोगितामा कुल ६ टिमको सहभागिता छ, त्यसलाई दुई समूहमा विभाजन गरिएको छ । नेपालको समूहमा प्यालेस्टाइन र ताजकिस्तान छन् । फिफा वरीयतामा दुवै नेपाल भन्दा माथिका टिम हुन् । यो समूहका सबै खेल सिलेटमा हुनेछन् । प्यालेस्टाइन प्रतियोगिताकै सबैभन्दा माथिल्लो वरीयताको टिम हो । उसको वरियता १०० औं स्थानमा छ । अन्तर्राष्ट्रिय फुटबलमा राजनैतिक विवाद तथा द्वन्द्वका कारण केही वर्षअघि मात्र फेरि सक्रिय भएको प्यालेस्टाइनले पछिल्लो समय राम्रै प्रगति गरेको छ । ताजकिस्तान भने फिफा वरीयताको १ सय २० औं स्थानमा छ । दुवै टिमले बंगबन्धु गोल्डकपमा पहिलो पटक सहभागिता जनाउन लागेका हुन् । दुवै टिमले प्रतियोगितामा पहिलो रोजाईको टिम पठाउने हुन्–होइन, कुनै जानकारी छैन ।

प्रतियोगिताको अर्को समूह ‘बी’ मा आयोजक बंगलादेशसँगै फिलिपिन्स तथा लाओस छन् । पहिलो समूहको तुलनामा यसलाई अपेक्षाकृत सजिलो मान्न सकिन्छ । यो समूहको सबैभन्दा बलियो टिम फिलिपिन्स नै हो र फिलिपिन्स वरियताको १ सय १४ औं स्थानमा छ । लाओस १ सय ७८ औ स्थानमा छ भने बंगलादेश सबैभन्दा पुछारको टिम हो, जुन १ सय ९३ औं स्थानमा छ ।

दुई वर्षअघिको इतिहास

यतिबेला दुई वर्षअघि फर्केर नेपालले बंगबन्धु गोल्डकप–२०१६ जितेको क्षणलाई फेरि एकपटक सम्झनु उपयुक्त हुन्छ । त्यति बेला नेपालको सहभागिता अन्तिम क्षणमा तय भएको थियो । नेपालले त्यसअघि कुनै उपाधि नजितेको पनि धेरै भैसकेको थियो, त्यसैले टिमले केही गर्नेछ भनेर कसैले विश्वास गरेका थिएनन् । यद्यपि नेपालले अविश्वसनीय प्रदर्शन गरेर उपाधि चुमेको थियो र यो सन् १९९३ यता नेपाल उपाधि विजेता भएको पहिलो अवसर थियो । त्यतिबेला नेपालले समूह चरणमा बंगलादेश, श्रीलंका तथा फेल्डा युनाइटेडविरुद्ध खेलेको थियो ।

नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको थियो । नेपालले लिग चरणमा श्रीलंकालाई हराएपछि मलेसियाली क्लब फेल्डा र बंगलादेशविरुद्ध बराबरी खेलेको थियो । सेमिफाइनलमा नेपालले सनसनीपूर्ण रूपमा माल्दिभ्सलाई ४–१ ले हराएको थियो । फाइनलमा भने नेपालले बहराइनको यू–२३ टिमलाई ३–० ले पराजित गरेको थियो ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *