स्याङ्जा : भीरकोट नगरपालिका-५ को स्वरेकमा जारी प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगितामा कोरियाले वर्चश्व कायम गरेको छ। कोरिया पहिलो, दोस्रो र तेस्रो स्थान ओगट्न सफल भएको छ।
शनिबार भएका तीन चरणका खेलमा कोरियाका स्यांग्यु लिमले १० अंकसहित पहिलो स्थानमा आए। दोस्रो स्थानमा कोरियाकै किङकी हेवनले ११ अंक र जिहुनयु १३ अंकसहित तेस्रो स्थानमा छन्। यस्तै स्लोभेनियाका एडम १४ अंकसहित चौथो स्थानमा छन्।
पहिलो चरणको खेलमा सातौं स्थानमा रहेको नेपाल दोस्रो दिन दसौं स्थानमा धकेलिएको छ। दोस्रो दिन तेस्रो चरणबाट सुरु भएको खेलमा ७० जना खेलाडी सहभागी थिए।
यसैगरी पाँचौं, छैटाै र सातौं स्थानमा क्रमशः कोरियन खेलाडी सेवङमिङ्ली, च्याङमिङ्ली र मुङ्सेवभ लिम छन्। आठौं स्थानमा चीनका झ्युचेन, नवौंमा कोरियाको इयोङ्चो र दसौं स्थानमा नेपालका युकेश गुरुङ छन्। नेपाली खेलाडी युकेशले २८ अंक ल्याए।
यसैगरी नेपालका विजय गौतम ३८ अंकसहित १३औं र विमल अधिकारी ४३ अंक ल्याएर १४ औं स्थानमा छन्। चौथो चरणमा ७० नै रहे भने पा“चौं राउन्डमा तीन जना खेलाडी घाइते भएकाले ६७ जना खेलाडी मात्र सहभागी थिए।
आइतबार सञ्चालन हुने अन्तिम तथा छैटौं राउन्डको खेलमा सबैभन्दा कम अंक ल्याउने देशका खेलाडीले पहिलो स्थान हात पार्नेछन् भने दोस्रो र तेस्रो स्थान पनि यसरी नै निर्धारण गरिनेछ।
नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लबको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना भएको हो। खेलमा पुरुष एकल, महिला एकल र सामूहिक रूपमा प्रतिस्पर्धा भएको छ।
स्वरेक महापुरबाट उडेको प्याराग्लाइडिङ वालिङको डौवाफाटमा झरेको थियो।
Facebook Comments