पोखरा चक्रपथको नयाँ खाका : १२० किलोमिटर सडक, २० अर्ब लगानी


२०७५ माघ १८ शुक्रबार  
  पोखरा // दशकदेखि चर्चा भइरहेको तर, काम अगाडि नबढेको एउटा योजना हो पोखरा चक्रपथ ।अहिलेस्म्म ५ पटक त डिजाइन फेरिएको छ तर, सबै कागजमै सीमित रहे । अहिले योजनाले अर्को मोड लिएको छ ।

तनहुँको शुक्लागण्डकी नगरलाई समेत समेटेर चक्रपथको नयाँ परिकल्पना गरिएको छ । यसपटक गण्डकी प्रदेश सरकारले चासो मात्रै लिएको छैन, सम्भाव्यता अध्ययनका लागि केन्द्र सरकारसँग अनुमति पनि मागेको छ ।

१ सय २० किलोमिटर लामो चक्रपथको अध्ययन र निर्माणमा सघाउन चिनियाँ कम्पनीसमेत इच्छुक देखिएको छ ।

चिनियाँ कम्पनीसँग प्रदेश सरकार र पोखरा महानगरले चक्रपथ निर्माणको छलफल थालेको गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । ‘प्रस्तावित चक्रपथमा चिनियाँ कम्पनी पावर चाइना सिपिङ पावर लाइन हार्डवेयर कम्पनीले चासो देखाएको छ,’ भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका बस्नेतले भने, ‘चिनिया टोलीसँगको छलफलमा चक्रपथको प्रस्तावित नमूनासमेत देखाएका छौं ।’

तनहुँको शुक्लागण्डकी नगर र पोखरा महानगरपालिकालाई समेट्ने यो चक्रपथमा एक सय १२ किलोमिटर सडक र ८ किलोमिटर सुरुङमार्ग हुने प्रस्तावित योजना छ । कास्कीको तल्लो गगनगौंडाबाट सुरु हुने रिङरोड तनहुँको गाछेपानी हुँदै सेतीनदीको पुलबाट पुनः कास्की छिर्ने छ । त्यहाँबाट लामगादी चोक, माथिल्लो पुँडीटार, भरतपोखरी, कृष्ती, फुस्रेखोलाबाट पुम्दीभुम्दी हुँदै फेवातालसम्म १.६ किलोमिटर लामो सुरुङबाट चापाकोट निकालिने छ । भदौरे हुँदै हर्पनखोला, घाँटीछिनाबाट ३.३ किलोमिटर लामो सुरुङ खनेर घट्टेखोला निकालिने योजना चिनियाँ टोलीसामु प्रस्तुत गरिएको छ ।

घट्टेखोलाबाट मध्यपहाडी लोकमार्गमा जोडेर हेमजा, पुरुञ्चौर, अकला मन्दिर, ठूलीपोखरी, बाटुलेचौर, भलाम, माटेपानी, काहुँखोला हुँदै विजयपुर खोलाबाट १.७ किलोमिटर लामो सुरुङ खनेर मादी करिडोरमा जोड्ने योजना छ ।

प्रस्तावित नयाँ इस्टिमेट अनुसार सडक ४ र सुरुङमार्ग २ लेनको हुनेछ । ११ वटा पक्की मोटरेबल पुल र ७ वटा कल्भर्ट निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । पोखरा महानगरले तयार पारेको इस्टिमेटअनुसार यो चक्रपथ निर्माणमा १८ अर्ब रुपैयाँ लाग्ने छ । १ सय १२ किलोमिटर सडक निर्माण गर्न ५ अर्ब ६० करोड र ८.२ किलोमिटर सुरुङमार्गका लागि १२ अर्ब ३० करोड लाग्ने अनुमान गरिएको छ ।

पोखरा चक्रपथको अवधारणा २०५८ सालमा तत्कालीन जिल्ला विकास समितिले अघि सारेको थियो । तत्कालिन जिविस सभापति पूण्य पौडेलले जिल्ला परिषद्बाट परित गराएर कार्यान्वयनमा लैजाने बताएपछि चक्रपथले प्राथमिकता पायो । त्यसयता अध्ययनका लागि भनेर बजेट पनि बिनियोजन हुँदै आएको थियो ।

तत्कालीन लेखनाथ नगरपालिका र पोखरा उपमहानगरपालिकाका सबै गाउँलाई जोड्ने गरी एकीकृत चक्रपथको अवधारणा बनाइएको हो ।

सबै गाउँलाई जोडेर ७६ किलोमिटरको चक्रपथ निर्माण गर्ने योजना अझै कार्यान्वयन हुन नसकेकोमा तत्कालिन जिविस सभापति पौडेल दुखी छन् । पौडेलले त्यतिबेला विभिन्न ठाउँमा पोखरा चक्रपथबारे बहस पनि चलाएका थिए । गाउँका मान्छेलाई गाउँमै उद्यम गर्न सघाउने र सहरसँग सजिलो पहुँच गराइदिएर पोखरालाई अस्तव्यस्त हुनबाट जोगाउने गरी चक्रपथको परिकल्पना गरेको उनको भनाइ छ ।

७६ किलोमिटरको चक्रपथमा ४ वटा ठूला पुल र एक सय ५४ वटा साना पुल बनाउने इस्टिमेट थियो । यो इस्टिमेट चर्चामा रहृयो तर कार्यान्वयनमा गएन ।

त्यसको ११ वर्षपछि चक्रपथको अर्को इस्टिमेट गरियो । दोस्रो पटक आवधिक योजनाका रुपमा शहरी विकास तथा डिभिजन कार्यालयले सुरुको भन्दा १ किलोमिटर दूरी घटाएर ७५ किलोमिटरको चक्रपथको प्रस्ताव ल्याएको थियो ।

यो प्रस्ताव आएको १ वर्षपछि चक्रपथको फेरि अर्को खाका सार्वजनिक गरियो । २०७० सालमा सडक विभागले नै डिजाइन तयार गरेको थियो । पहिलेको भन्दा १० किलोमिटर थप गरेर ८५ किलोमिटरको लामो चक्रपथ निर्माण गर्ने योजनासहित डिजाइन तयार पारियो ।

तत्कालीन क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाको अगुवाईमा २०७१ सालमा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वप्रकाश लामिछानेको संयोजकत्वमा गठित समितिले पुनः अर्को प्रस्ताव अघि सार्‍यो । फास्ट ट्रयाक र बाइपास रोड हुने गरी ७३.४ किलोमिटरको चक्रपथ प्रस्ताव त्यो बेला गरिएको थियो ।

चक्रपथको नयाँ-नयाँ योजना र इस्टिमेट आउने तर कार्यान्वयन नहुने क्रम चलिहँदा पोखराको ट्राफिक दिनप्रतिदिन अस्तव्यस्त भइरहेको छ । पोखरा जोड्ने मुख्य ३ राजमार्ग आउजाउ गर्ने वैकल्पिक मार्ग छैन । सिद्धार्थ राजमार्ग, भूपी शेरचन राजमार्ग हुँदै आउजाउ गर्न पृथ्वीचोक नपुगी सुखै छैन । त्यो पोखराका विभिन्न ठाउँसम्म आउजाउ गर्ने अर्को बैकल्पिक मार्ग पनि नहुँदा पोखरा अहिले ट्राफिक जाम र अस्तव्यवस्ताबाट गुज्रिन थालेको छ ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *