पञ्चासे पुग्ने ग्रामीण सडक स्तरोन्नतिमा ढिलाइ

 कास्की, स्याङ्जा र पर्वतको पवित्र संगमस्थल पञ्चासे धार्मिक, सांस्कृतिक एवं पर्यटकीय गन्तव्यको प्रचुर सम्भावना बोकेको पञ्चासे सडकखण्ड स्तरोन्नतिमा ढिलाइ भएको छ । मुख्य सडकखण्डमा बजेट विनियोजन नगरी अन्यत्र सहायक बाटामा बजेट पर्ने गरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

बैदाम–पामे–घाँटीछिना–कुद्वीडाँडा–सिधाने–भन्ज्याङ सडकखण्डमध्ये बैदामदेखि घाँटीछिनासम्म पटकपटक बजेट पर्ने गरे पनि सडकको बाँकी माथिल्लो भागमा बजेट नपर्ने गरेको स्थानीयको गुनासो छ । क्याप्टेन पदमबहादुर गुरुङले आफूले गुनासो लिएर पोखरा महानगरपालिकाका मेयर, जिल्ला समन्वय समिति, सडक डिभिजन कार्यालय सम्बन्धित कार्यालयमा गए पनि बजेट विनियोजनमा स्थानीय, प्रदेश र केन्द्र सरकारले आनाकानी गरेको बताए ।

बैदाम–पामे–घाँटीछिना–कुद्वीडाँडा–सिधाने–भन्ज्याङ ग्रामीण सडक उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर गुरुङको पहलमा आजभन्दा करिब १० वर्षअघि जनश्रमदानमै सो ट्र्याक खोलिएको थियो । हाल सो सडकखण्डमा अलिकति पानी पर्नेबित्तिकै गाडी जान मान्दैनन् ।

तीन जिल्लाको संगमस्थल रहेको र प्रशस्त धार्मिक, सांस्कृतिक एवं पर्यटकीय गन्तव्य बोकेको भए पनि पञ्चासेमा सहज रूपमा बाटो नपुग्दा यसको हरेक तहको विकासमा असर पुगेको स्थानीयको भनाइ छ । आफूहरूले जिताएर पठाएका जनप्रतिनिधिले समेत जितेर गएपछि खासै चासो नदिएको उनीहरूले बताए ।

गण्डकी प्रदेशको १ करोड, सडक डिभिजनको १ करोड तथा एडीबीको १ करोड ६३ लाख रुपैयाँ रकम विनियोजित भए पनि सो रकम तल्लो भागमै खर्चिने गरेको र भन्ज्याङसम्म नजाने गरेको बैदाम–पामे–घाँटीछिना–कुद्वीडाँडा–सिधाने–भन्ज्याङ ग्रामीण सडक उपभोक्ता समितिका कोषाध्यक्षसमेत रहेका क्याप्टेन पदमबहादुर गुरुङले बताए । यता, पोखरा वडा–२३ अन्तर्गत पर्ने सो सडकखण्डबारे वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले पनि उचित रूपमा बजेट विनियोजन हुन नसकेको बताए । उनले भने, ‘हाम्रो वडामा एक रौं पनि सडक पिच छैन, यो पश्चिमी क्षेत्रलाई नगर प्रमुखले पनि महव नदिएको महसुस भएको छ । वडाध्यक्ष पराजुलीका अनुसार फेवातालको मुहानमा पर्ने सो क्षेत्र पर्यटकीय दृष्टिकोणले पनि अति नै महवपूर्ण रहे पनि सडक स्तरोन्नतिमा महानगर र प्रदेशले चासो दिएको छैन । ‘माथिबाटै बजेट पर्ला भनेर बस्यौं तर सोचेजस्तो भएन,’ पराजुलीले भने ।

यो वर्ष एडीबीबाट परेको रकमले माछापोखरीदेखि घाँटीछिनासम्म ग्राभेलिङ र रोलिङ गर्ने काम हुँदै गरेको उनले जानकारी दिए । चापाकोटा, हर्पन शाखामा पनि प्रत्येकवर्ष लाखौं बजेट पर्दा पनि त्यसअघिको भागमा बजेट विनियोजन गर्नुपर्ने उपभोक्ताको माग छ । २ हजार ५१७ मिटर उचाइमा रहेको पञ्चासे कास्कीको साबिक भदौरेतामागी, स्याङ्जाको वाङसिङ र पर्वतको आर्थरको संगमस्थल हो ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *