गोली हान्नेको नाम नलिन आग्रह गर्दै न्युजील्याण्डकी प्रधानमन्त्रीको संसदमा भावुक सम्बोधन


न्यूजील्याण्ड । न्युजील्याण्डका प्रधानमन्त्री जाकिन्दा आर्डेनले हालै त्यहाँको दुई वटा मश्जिदमा गोली प्रहार गरी ५० जना मानिसको ज्यान लिने व्यक्तिको नाम नलिन आग्रह गरेकी छन् । न्युजील्याण्डको संसदमा बोल्दै उनले त्यो व्यक्ति आतंककारी भएकोले त्यसको नाम चर्चित नबनाउन बरु मारिएका व्यक्तिहरुको नाम लिनसमेत आग्रह गरिन् । उनी संसदमा निकै भावुक भएर प्रस्तुत भएकी थिइन् ।
गएको शुक्रबार अष्ट्रेलियाका २८ वर्षिय युवक ब्रेन्टन टारेन्टले मश्जिदमा गोली चलाउँदा ५० जनाको मृत्यु भएको थियो । प्रधानमन्त्री रहेकै बेलामा केही महिनाअघि बच्चाको आमा भएका कारण चर्चामा रहेकी न्युजील्याण्डका प्रधानमन्त्रीले अहिले आक्रमणको शिकार भएका मुश्लिम समुदायमाथि गरेको सकारात्मक व्यवहारका कारण उनको छबी फेरि एक पटक विश्व समुदायमा निकै उज्यालो भएको छ ।
उनी ओहदामा रहेको बेलामा बच्चा पाउने विश्वकै दोस्रो कार्यकारी प्रमुख हुन् । यसभन्दा अघि पाकिस्तानका तत्कालीन प्रधानमन्त्री बेनजिर भुट्टोले पनि ओहदामा भएकै बेला बच्चा जन्माएकी थिइन् । न्यूजील्याण्डका प्रधानमन्त्रीले आज संसदमा बोल्दै मुश्लिम समुदायलाई सम्बोधन गर्ने क्रममा अरेबिक अभिवादन ‘अल सलाम अलेइकुम ’ भनेकी थिइन् । त्यसको अर्थ हो— तपाईमा शान्ति होस् ।
(बीबीसी)
Facebook Comments