गण्डकी मेडिकल कलेज प्रकरणः पक्राउ पूर्जीविरुद्धको फैसला आज हुने

पोखरा । गण्डकी मेडिकल कलेजका सञ्चालकहरुले पक्राउ पूर्जीविरुद्ध दायर गरेको रिटको फैसला आज हुने भएको छ । बुधबार कलेजका अध्यक्ष खुमा अर्यालसहित ६ जनाले दर्ता गरेको रिटमा दिनभर छलफल भएतापनि बहस नसकिएपछि बिहिबार फेरि सुनुवाइ हुने भएको हो ।

गत फागुन २१ गते विद्यार्थीहरुले ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दर्ता गरेपछि उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । त्यसको विरुद्धमा फागुन २३ गते उनीहरुले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए । अर्यालले जिल्ला अदालत कास्की, जिल्ला प्रहरी, जिल्ला प्रशासन, जिल्ला न्यायाधिवक्ताको कार्यालय र ३ विद्यार्थीलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । होस्टेल, यातायात लगायत खर्चका लागि विद्यार्थीकै सहमतिमा रकम संकलन गरेको दाबी रिट निवेदनमा गरिएको छ । 

बुधबार निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, पूर्णराज राजवंशी र दीपक पौडेलल बहस गरेका थिए । उनीहरुले मेडिकल कलेजको ट्युसन शुल्कको बारेमा त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले निर्णय गरेर तोके पनि अतिरिक्त शुल्कको बारेमा भने कहिं कतै उल्लेख नभएको जिकिर गरे । विद्यार्थीसँगको सहमतिको आधारमा कलेजले शुल्क लिएकाले यसलाई फौजदारी कसुर अन्तर्गत जाहरी दर्ता गरी अदालतले पक्राउ पुर्जी जारी गर्नु नै न्यायसंगत नभएको उनीहरुको जिकिर छ ।

कम्पनी ऐन अनुसार दर्ता भएर त्रिविविको सम्बन्धनमा चलेको हुँदा यसको अनुगमन पनि त्रिविविले नै गर्नुपर्ने उनीहरुको तर्क थियो । उच्च अदालत पोखराका मुख्य न्यायधीश कुमार चुडाल र न्यायधीश रामचन्द्र पौडेलको ईजलासमा भएको बहसमा विपक्षीको बहस भने सकिएन ।

विपक्षीको बहस नसकिएपछि बिहिबार निरन्तर सुनुवाइ हुने भएको हो । विपक्षीको तर्फबाट जिल्ला न्यायधिवक्ता, वरिष्ठ अधिवक्ता तिलक पराजुली, अधिवक्ता भगवती पहारीले बहस गर्नेछन् ।

अधिवक्ता ओमप्रकाश अर्यालले विद्यार्थीको तर्फबाट बहस गर्दै नेपालको मेडिकल शिक्षा सिमित व्यक्तिहरुको कब्जामा रहेको भन्दै विभिन्न वाहानामा विद्यार्थीमाथि शोषण हुँदै आइरहेको बताए । त्रिविविले तोके भन्दा अतिरिक्त शुल्क कुनै पनि हालतमा मेडिकल कलेजले लिन नपाउने भए पनि विभिन्न बहानामा विद्यार्थीबाट रकम असुल्नु सरासर गलत रहेको उनको भनाइ थियो ।

प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि खुमा अर्यालसमेतले वारेसमार्फत उच्च अदालत पोखरामा रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै अदालतले आइतबार विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । निवेदकले तत्काल अन्तरिम आदेश जारी गर्न माग गरेको भए पनि न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजलासले २६ गते कारण देखाउ आदेश जारी गर्दै बुधबारका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

२ जना पक्राउ, ९ फरार
पक्राउ पूर्जी जारी भएपछि कास्की प्रहरीले हालसम्म २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्व सिइओ सन्तोष खनाल र कर्मचारी लक्ष्मण शर्मा रहेका छन् । बाँकी ९ जना भने हालसम्म फरार नै छन् । विद्यार्थीहरुले ठगी गरेको भन्दै प्रहरीमा कलेजका अध्यक्ष खुमा अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखा कर्मचारी हरिमाया पौडेल, प्रशासनका कर्मचारी दिनेश पौडेल, पूर्व सिइओ सन्तोष खनाल, कर्मचारीहरु तीलक पौडेल, लक्ष्मणप्रसाद शर्मा, कृष्ण पौडेल, कृष्ण घिमिरे र विश्वराज घिमिरेको नाममा २ वटा मितिमा उजुरी दिएका थिए ।

कलेज प्रशासनले अनधिकृत रुपमा बढि रकम असुलेको भन्दै गत माघ १७ गतेदेखि निरन्तर आन्दोलनमा उत्रेका छन् । कलेज प्रशासनले विद्यार्थीहरुबाट करोडौँ रुपैयाँ बढि असुलेको आरोप विद्यार्थीहरुको छ । २०१५ ब्याचका ८३ विद्यार्थीहरुले एमबिबिएसको परिक्षा पनि दिएनन् ।  गण्डकी मेडिकल अस्पतालमा ईमरजेन्सीबाहेकका अन्य सेवा ठप्प रहेका छन् ।
 

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *