कोरोना नियन्त्रणमा उच्च सतर्कता : स्वास्थ्य मन्त्री


काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण अहिलेसम्म नदेखिएको र सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समयमा मन्त्री ढकालले कोरोना भाइरसबाट बच्नका लागि सरकार तयार रहेको बताए । नेपालमा कोराेना भाइरस नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा दुईपटक बैठक बसेको र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल बनेको छ। मन्त्री ढकालले उक्त भाइरसबाट सतर्क रहनका लागि विज्ञापन सामग्री बनाएको र प्रत्येक दिन बेलुका सञ्चारकर्मीसँग ब्रिफिङ गर्ने तयारीसमेत गरेको जानकारी दिए।
सरकारले कोरोना भाइरसबाट बच्ने तयारी गरिरहेको छ, सोमबारको मन्त्रिपरिषद्को बैठकले पनि त्यसकै विषयमा गम्भीर छलफल गर्यो’, मन्त्री ढकालले भने, ‘अरु रोगभन्दा फरक खालको छ, बिरामी सिकिस्त देखिँदैन, दुईदेखि १४ दिनसम्म संक्रमित हुनसक्छ,’ उनले बिरामीका बारेमा समाजमा पत्ता नलाग्न पनि सक्ने हुनाले उच्च सावधानी अपाउनुपर्नेमा जोड दिए।


मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयमा रहने गरी ३०० शय्यासम्मको अस्पताल बनाउने र भविष्यका लागि यस्ता जोखिमबाट बच्नका लागि अस्पताल बनाउने तयारीमा रहेको जानकारी दिए।
बैठकमा दिव्यमणि राजभण्डारी, मोहम्मद इस्तियाक राई, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, कृष्णभक्त पोखरेल, डीला सङ्ग्रौलासहित १४ सांसदले कोरोना भाइरस रोकथामका लागि कार्यक्रम ल्याउनुपर्ने र चीनबाट आउन चाहने नेपाली नागरिकलाई जतिसक्दो छिटो ल्याउनुपर्नेमा जोड दिए।
सांसदको जवाफ दिँदै मन्त्री ढकालले नेपाल फर्कन चाहनेले फारम भरिरहेकाे र आउन चाहने सबैलाई सरकारले ल्याउने तयारी गरेकोबताए। उनका अनुसार विमानस्थलमा ल्याएका व्यक्तिलाई परीक्षणका लागि हेल्थ डेस्क राखेको र डाक्टरको नेतृत्वमा २४ घण्टाकै सेवा तथा अस्पतालसम्म लानका लागि एम्बुलेन्स तयारी छ। जुनसुकै मुलुकबाट आएका व्यक्तिको परीक्षण गर्ने व्यवस्था छ।


चीनबाट नेपाल आउन चाहने नेपालीलाई ल्याउने तयारी अन्तिम चरणमा पुगेकाे मन्त्री ढकाले बताए। ढकालका अनुसार कोरोना भाइरसको संक्रमण देखिएकाबाहेक आउन चाहने नेपालीलाई सरकारले विलम्ब नगरी ल्याउने तयारी गरेको छ।
‘परीक्षण गर्दा पोजेटिभ देखिएमा चीन सरकारले नेपाल पठाउँदैन’, मन्त्री ढकालले भाे, ‘नेपाल आउन चाहने १८० जनाले चीनस्थित नेपाली दूतावासमा फारम भरेका छन्।’ मन्त्री ढकालका अनुसार नेपालमा ल्याएपछि १४ दिनसम्म परीक्षणमा राखिन्छ। ‘भाइरस नदेखिए सार्वजनिक भेटघाटका लागि जान दिन्छौँ,’ उनले भने, ‘सरकारले उक्त भाइरस संक्रमितकाे उपचारकाे तयारीका लागि तीन अस्पताल र ४३ शय्याको व्यवस्था गरेको छ। पोखरा, चितवन र भैरहवामा हेल्थ डेस्कको व्यवस्था गरेको छ। रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर हामीले काम गरेका छौँ।’
Facebook Comments