काठमाडौं अपराजित

पोखरा फागुन २- २०७५

साविकको उपविजेता काठमाडौं गोल्डेन्सले घरेलु क्रिकेटको सर्वाधिक धनराशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) –३ मा लगातार दोस्रो जित निकाल्दा डिफेन्डिङ च्याम्पियन धनगढी स्टार्स भने लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिने सँघारमा पुगेको छ ।

काठमाडौंले भारतीय खेलाडी अंकित दवासको अलराउन्ड प्रदर्शनमा महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गर्दै प्रतियोगिताको प्ले अफ नजिक पुगेको छ ।

काठमाडौंले दिएको १३५ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले ८ विकेट गुमाउँदै १२७ रन मात्र बनाउन सक्यो । महेन्द्रनगरलाई जितका लागि अन्तिम ओभरमा १२ रनको आवश्यकता थियो । तर, महेन्द्रनगरले ५ रन मात्र जोड्न सक्यो । अन्तिम ओभरमा योगेन्द्रसिंह कार्कीले ५ रन खर्चेर १ विकेट लिन सफल भए । अमरसिंह राउटेला २८ रनमा अविजित रहे पनि टिमलाई हारबाट जोगाउन सकेन । खराब सुरुवात गरेको महेन्द्रनगरले पहिलो ओभरको ओपनर मोहम्मद नाविदलाई शून्यमा तथा दोस्रो ओभरमा दिलिप नाथलाई १ रनमा गुमाएको थियो । त्यसपछि कप्तान शरद भेषवाकर र आरिफ शेखले तेस्रो विकेटको लागि २५ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकास्ने प्रयास गरेका थिए ।

काठमाडौंका रासिद खानले ३ विकेट लिए । अंकित दवासले २ विकेट लिए । ललितनारायण राजवंशीले र नन्दन यादवले समान १–१ विकेट लिए ।

त्यसअघि काठमाडौंले अंकित दवासको उत्कृष्ट ब्याटिङको मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३४ रन जोडेको थियो । उसका लागि अंकितले नटआउट ६५ रनको योगदान दिए । उनले ५५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । कप्तान ज्ञानेन्द्र मल्ल १४ रनमा आउट भए । महबुब आलम १३ तथा सोनु तामाङ १ रनमा आउट हँुदा काठमाडौं ५८–५ को स्थितिमा पुगेको थियो । त्यसपछि अंकित र योगेन्द्रले छैटौं विकेटको लागि अविजित ७६ रनको साझेदारी गरे । योगेन्द्रसिंह कार्की २२ रनमा अविजित रहे । महेन्द्रनगरका अमरसिंह राउटेलाले २ तथा अविनाश बोहोरा, सागर ढकाल र मोहम्मद नाविदले समान १–१ विकेट लिए ।

साविक विजेता धनगढी स्टार्सले लगातार तेस्रो हार बेहोरेको छ । धनगढी विराटनगर किंग्ससँग २१ रनले पराजित भएको हो । विराटनगरले दिएको १०४ रनको लक्ष्य पछ्याउने क्रममा धनगढी १९ ओभरमा ८२ रनमा अलआउट भयो । युवा ब्याट्सम्यान सन्दिप रजालीले ३४ रन तथा राजु रिजालले १५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

विराटनगरका कप्तान करण केसी र अविनाश यादवले समान ४–४ विकेट लिए । सुसन भारीले २ विकेट आफ्नो नाममा लेखाए ।

त्यसअघि विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १०३ रनको योगफल तयार पारेको थियो । कप्तान करण केसीले २१ रन तथा अविनाश यादवले २७ रन बनाउनबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । आसिफ सेख १२ तथा संसाद सेखले ११ रन जोडे ।धनगढीका कप्तान सोमपाल कामी र विपिन खत्रीले ३÷३ विकेट लिए । रूपन्देही दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान दुई खेलबाटै ४ अंक जोडेको काठमाडौं नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा रहेको छ । सीवाईसी अत्तरिया २ अंक जोडेर तेस्रो र विराटनगर २ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *