कर्णाली प्रदेश ७ दिन सिल गर्न‍े निर्णय

8 / 100

सुर्खेत — छिमेकी प्रदेश सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश ७ दिनको लागि सिल गर्ने निर्णय भएको छ । सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।सामाजिक विकासमन्त्री एवं प्रदेशस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यकारी समितिका संयोजक दल रावलले यो निर्णयपछि कर्णाली पूर्ण रुपमा सिल हुने बताए ।

उनका अनुसार प्रदेशका विभिन्‍न २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइने छ । बैठकले २५ स्थानमा टोली खटाउने निर्णय गरेको भए पनि डोल्पाका दुई स्थान थप गरिएको उनले बताए । गाउँपालिकाका केन्द्र, प्रमुख बजार क्षेत्रजस्ता रणनीतिक स्थानमा टोली परिचालन गरिने उनको भनाइ छ । मन्त्री रावलका अनुसार स्वास्थ्यकर्मीको टोलीले सम्भावित बिरामीको पहिचान गर्नको लागि स्वाब संकलन, द्रूत परीक्षण (आरडीटी) समेत गर्नेछ । ‘आवश्यक परेको खण्डमा सोही ठाउँमा आइसोलेसन वार्डसमेत सञ्चालन गर्न सकिनेछ,’ उनले भने, ‘परीक्षण र उपचारलाई सँगसँगै लगिनेछ ।’

सरकारले सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक परिचालन गर्नेछ । प्रतिष्ठानका चिकित्सक साविकको कर्णालीमा परिचालन हुनेछन् भने सुर्खेतका चिकित्सक अन्य जिल्लामा जानेछन् । आवश्यकताअनुसार सम्बन्धित जिल्लाका चिकित्सक पनि तोकिएका स्थानमा जाने मन्त्री रावलले बताए । स्थानीय तह र प्रदेश सरकारको समन्वयमा पछिल्लो समय उद्धारका नाममा मान्छे ओसारपोसार जारी थियो । यो निर्णयपछि अब आवतजावत ठप्प हुने भएको छ । सुर्खेत जिल्ला प्रहरी कार्यालयका अनुसार लकडाउनयता कर्णालीमा प्रवेश गर्ने प्रमुख नाका सुर्खेतको बबईबाट १० हजार ३ सय ३२ जना व्यक्ति भित्रिएका छन् ।

उनीहरु गाउँगाउँमा पुगिसकेका छन् । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक गोपाल रायमाझीका अनुसार कालीकोटका २ हजार ६ सय ७४, जुम्लाका १ हजार ५ सय ३५, मुगुका १ हजार ३ सय ४९, दैलेखका १ हजा १ सय २३, सुर्खेतका १ हजार ९४, जाजरकोटका १ हजार २६, डोल्पाका ६ सय ५५, रुकुम पश्चिमका ३ सय ६६, हुम्लाका ३ सय ४ र सल्यानका २ सय ६ जनाको उद्धार भएको छ ।

0Shares

Facebook Comments