अनसन तोडे केसीले ।।




काठमाडौं । अनशनरत डा. गोविन्द केसीले १६ औँ सत्याग्रह तोड्नुभएको छ । उहाँमाथि चौतर्फी दबाब आएपछि अनशन तोड्नुभएको हो । सरकारले आफूसँगको सम्झौता विपरित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ पारित गरेको भन्दै उहाँ १६ औँ सत्याग्रहमा बस्नुभएको थियो ।
डा. केसीलाई पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र नागरिक अगुवाहरुले अनसन तोड्न आग्रह गरेका थिए । बिहीबार डा. केसीलाई भेट्न अनसनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका देउवाले अनसन तोडेर फरक हिसाबले लड्न केसीलाई आग्रह गर्नुभएको थियो । त्यस्तै शुक्रबार केसीलाई भेटेर पूर्वराष्ट्रपति यादवले पनि अनसन तोड्न आग्रह गर्नुभयो ।
पूर्वप्रधानन्यायाधीश कार्की, पूर्वसभामुख दमननाथ ढुंगानालगायत नागरिक अगुवाले पनि शुक्रबार बक्तव्य जारी गरेर अनशन तोड्न केसीलाई आग्रह गरेका थिए । उनीहरुले कमजोर स्वास्थ्य अवस्थाको ख्याल गर्दै अनशनबारे पुनर्विचार गर्न आग्रह गरेका हुन् ।
चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्च स्तरीय कार्यदलका अध्यक्ष केदारभक्त माथेमा लगायतका पदाधिकारीले पनि केसीलाई अनसन तोड्न आग्रह गर्नुभएको थियो ।
Facebook Comments